पोखरा । एक्स्पर्ट धनगढी ब्लुजले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।
बिहिबार भएको खेलमा सोमपाल कामीको बुटवल ब्लास्टर्सलाई २० रनले हराएर दिपेन्द्र सिंह ऐरीको धनगढीले दोस्रो जित निकालेको हो ।
पोखरा रंगशालामा धनगढीले दिएको १६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुटवलले पुरै २० ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाउन सक्यो ।
बुटवलका लागी चिराग सुरीले अविजित ७९ रनको अर्धशतकीय इनिङस खेले । त्यस्तै बुटवलका रोहन मुस्तफाले २० रन जोड्दा सिदान्त लोहनी र कप्तान सोमपाल कामीले १२/१२ रन जोडे ।
धनगढीका सागर ढकालले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले पुरै २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो । खराब सुरुवात गरेको धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरी र ड्यानियल लरेन्सलेअर्धशतकीय पारी खेले ।
दुवैले चौथो विकेटको लागि १०८ रनको साझेदारी गरे । लरेन्स ५२ रनमा आउट हुँदा कप्तान दिपेन्द्रले अविजित ५६ रन जोडे ।
त्यस्तै पिटर टेग्रोले १४ रन जोड्दा सौरभ खनालले अविजित १३ रन बनाए । बुटवलका बिपिन खत्रीले २ विकेट लिए । यस्तै अविनास बोहरा र रोहन मुस्तफाले १/१ विकेट लिए ।
जितसंगै धनगढीले ४ खेलबाट ४ अंक जोडेको छ । र, धनगढीको प्ले अफ यात्रा कायम रहेको छ ।
यता, अघिल्ला दुई खेल जितेको बुटवलको यो लगातार दोस्रो हार हो । बुटवलले पनि ४ खेलबाट ४ अंक जोडेको छ । बुटवलको पनि प्ले अफ पुग्ने सम्भावना जीवितै रहेको छ ।