पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेपछि चितवन राइनोजका कप्तान पारस खड्काले प्रतियोगिताको अन्तिम खेल फाइनल सरह हुने बताएका छन् ।
पोखरा रंगशालामा बिहिबार भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको हुलास काठमाडौं रोयल्सलाई १३ रनले हराएर चितवनले लगातार दोस्रो जित हात पारेको थियो ।
'बलरले राम्रो प्रदर्शन गरेपछि हामीले जित निकाल्न सक्यौं । दुुई हार दुुई जितपछि अब हाम्रो समूह चरणको अन्तिम खेल बाँकी छ,' जितपछि कप्तान पारसले भने, 'त्यसैले हामीलाई थाहा छ कि हामीले के गर्नुु पर्छ भन्ने कुरा । पहिलो दुुई खेल हारीसकेपछि हामीलाई अन्तिम खेल फाइनल जस्तै छ ।'
अन्तिम खेलमा चितवनले सन्दीप लामिछानेको टिम विराटनगर टाईटन्ससंग शनिबार खेल्दैछ । उक्त खेल जिते चितवनको प्ले अफ सम्भावना रहन्छ । चितवनले ४ खेलबाट ४ अंक जोडेको छ । र, तेस्रो स्थानमा छ ।
यस्तै कप्तान पारसले अन्तिम खेल जित्नका लागि टोलीको प्रदर्शनमा सुधार गर्नुपर्ने बताए ।
'हामी अगाडि बढ्न चाहान्छौं । अंक तालिकामा ४ अंक भएको छ । अर्को खेलमा राम्रो गरेर सुधारेर अगाडि बढ्नुु पर्छ । सबै टिम राम्रै छन्,' कप्तान पारसले भने ।
यता, पहिलो हार व्यहोरेपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले फिल्डिङमा कमजोरी र महत्वपूर्ण विकेट झर्नु नै हारको कारण रहेको बताए । यस्तै कप्तान मल्लले आगामी खेलमा सुधार गर्दै जित निकाल्ने बताए ।