पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिपेन्द्र सिंह ऐरीको धनगढीले पुरै २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाउन सक्यो । धनगढीले दिएको १६२ रनको लक्ष्यसहित सोमपाल कामीको बुटवलले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
खराब सुरुवात गरेको धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरी र ड्यानियल लरेन्सलेअर्धशतकीय पारी खेले । दुवैले चौथो विकेटको लागि १०८ रनको साझेदारी गरे । लरेन्स ५२ रनमा आउट हुँदा कप्तान दिपेन्द्रले अविजित ५६ रन जोडे ।
त्यस्तै पिटर टेग्रोले १४ रन जोड्दा सौरभ खनालले अविजित १३ रन बनाए । बुटवलका बिपिन खत्रीले २ विकेट लिए । यस्तै अविनास बोहरा र रोहन मुस्तफाले १/१ विकेट लिए ।
यस खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ । ३ खेलबाट २ अंक जोडेको धनगढीलाई प्ले अफ यात्रा कायम राख्न बुटवलविरुद्ध जित्नै पर्ने हुन्छ ।
यता, अघिल्ला दुई खेल जितेर तेस्रो खेलमा पराजय व्यहोरेको बुटवल चौथो खेल जितेर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ । बुटवल ३ खेलबाट ४ अंक जोडेर लिगको शीर्ष स्थानमा छ ।