पोखरा । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेपछि विराटनगर टाईटन्सका कप्तान सन्दीप लामिछानेले टिमको आवश्यकता अनुसार खेलाडीले उच्च प्रदर्शन गर्दा जित निकाल्न सफल भएको बताएका छन् ।
पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पीपीएल क्रिकेटमा विराटनगरले बुधबार बलियो टोली बुटवल ब्लास्टर्सलाई १२ रनले हराएको थियो । लगातार तीन खेलपछि विराटनगरको यो पहिलो जित थियो ।
'सवै खेलाडी उत्कृष्ट खेले । हरेक खेलाडीको उत्तीकै महत्वपूर्ण भूमिका थियो,' जितपछि कप्तान सन्दीपले भने, 'सवैजनाको मेहेनत र जुन हामीले सुरुवातबाट खोजेका थियौं । त्यो जित हामीले प्राप्त गर्यौं ।'
पोखरा रंगशालामा १४१ रनको लक्ष्य पछ्याएको बुटवलले विराटनगरको कसिलो बलिङसामु पुरै २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाउन सकेको थियो । विराटनगरका लागि कप्तान सन्दीप र किशोर महतोले २/२ विकेट लिएका थिए ।
अन्तिम ओभरमा बुटवललाई जितका लागि १३ रन आवश्यक रहदा विराटनगरका बलर किशोर महतोले अन्तिम ओभरमा मेडन विकेट लिंदै टोलीलाई जित दिलाएका थिए ।
कप्तान सन्दीपले अन्तिम ओभरमा किशोरको उत्कृष्ट बलिङ पनि टोलीको जितको आधार रहेको बताए ।
'किशोरले अन्तिममा उत्कृष्ट बलिङ गरे । त्यो हेर्न लायक थियो । सबैले मैदानमा आफ्नो सक्ने प्रदर्शन गरे । जुन निकै सुन्दर रह्यो,' कप्तान सन्दीपले भने ।
कप्तान सन्दीपले टोलीको ब्याटिङ कमजोर भईरहेको बेला म्यान अफ दि म्याच बनेका मोहमद जायद आलमले उत्कृष्ट ब्याटिङ गरेको बताए । उनले ७२ रन बनाएका थिए ।
जितसंगै विराटनगर ४ खेलबाट २ अंक जोडेर लिगको पुछारमा छ । तर, कप्तान सन्दीपले टोलीको प्ले अफ सम्भावना कायम रहेको बताए ।
'हाम्रो सम्भावना अझै बाँकी छ । अन्तिम खेल बाँकी नै छ,' सन्दीपले भने, 'अंक तालिका हेर्नु भन्दा हामी राम्रो गर्ने प्रयास गर्नेछौं ।'