पोखरा । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेपछि चितवन राइनोजका कप्तान पारस खड्काले उत्कृष्ट कमब्याक गरेको बताएका छन् ।
अघिल्ला दुई खेलमा लगातार पराजय व्यहोरेको चितवनले बुधबार भएको तेस्रो खेलमा एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनले हराएको थियो । जितपछि कप्तान पारसले पहिलो जितमा खुसी लागेको बताउदै जितलाई निरन्तरता दिने बताए ।
'पहिलो दुुई खेल हारिसकेपछि यो पहिलो जित हो । पहिलो जितबाट खुसी छौं,' कप्तान पारसले भने, 'हामीले राम्रो कमब्याक गरेका छौं ।'
यस्तै कप्तान पारसले समग्रमा टिमको प्रदर्शन राम्रो भएको बताए । तर, उनले आगामी दुई खेल जित्नै पर्ने दबाब टिमलाई रहेको बताए ।
'हाम्रो यात्रा अहिले नै सकिएको छैन । कहिलेकाही जति धेरै मेहेनत गर्दा पनि सफलता हात पर्दैन । टी-ट्वान्टीमा एक दुुई मिस्टेकले विपक्षी हावी भइहाल्छन् । हामीलाई यति थाहा छ बाँकी दूूई खेज जसरी भएपनि जित्नै पर्छ,' कप्तान पारसले थपे ।