पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत अहिले चितवन राइनोज र एक्स्पर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा पारस खड्काको चितवनले दिपेन्द्र सिंह ऐरीको धनगढीविरुद्धटस हारेर ब्याटिङ गरिरहेको छ । र, चितवनका हरी शंकर साहले अर्धशतक बनाएका छन् । उनले ३२ बलमा ५० रन पुरा गरेका हुन् ।
हरीले अनिल कुमार साहसंग १०१ रनको साझेदारी गरेका थिए । तर, हरी ५३ रनमा आउट भए । यस्तै अनिल ३७ रनमा आउट भए ।
आज चितवन पहिलो जितको खोजीमा हुनेछ भने धनगढी दोस्रो जितको खोजीमा हुनेछ ।
अघिल्ला दुई खेलमा पराजित भएको चितवनलाई प्ले अफमा पुग्न जित्न्नै पर्ने दबाब छ । चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससंग ७० रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा पोखरा पल्टनसंग ५ विकेटले पराजित भएको थियो ।
अघिल्ला दुई खेल गुमाएको कारण धनगढीविरुद्ध चितवन दबाबमा हुनेछ । धनगढीविरुद्ध पराजित भएमा चितवनको प्ले अफ यात्रा लगभग सकिनेछ ।
चितवनले दुई खेल खेल्दा अंकबिहिन रहेर लिगको अन्तिममा छ । तर, चितवनका कप्तान पारसले धनगढीविरुद्धको खेल जित्दै उत्कृष्ट पुनरागमन गर्ने लक्ष्य रहेको बताईसकेका छन् ।
यता, एक खेलमा जित र एक खेल हारेको धनगढीलाई पनि जित आवश्यक छ । चितवनविरुद्धको जितले धनगढीलाई प्ले अफ यात्रा सहज हुनेछ ।
२ खेलबाट २ अंक जोडेको धनगढी चौथो स्थानमा छ । पहिलो खेलमा हुलास काठमाडौं रोयल्ससंग १७ रनले पराजित धनगढीले दोस्रो खेलमा विराटनगर टाईटन्सलाई ७८ रनले हराएको थियो ।