पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बुधबार हुने दोस्रो खेलमा विराटनगर टाईटन्स र बुटवल ब्लास्टर्सले प्रतिस्पर्धा गर्दैछन् ।
पोखरा रंगशालामा सन्दीप लामिछानेको विराटनगर र सोमपाल कामीको बुटवलबीचको खेल अपरान्ह १:१५ मा सुरु हुनेछ ।
बुटवलविरुद्ध मैदान उत्रदा विराटनगर पहिलो जितको खोजीमा हुनेछ । पीपीएलमा विराटनगर लगातार तेस्रो खेल हार्ने पहिलो टोली हो । विराटनगर पहिलो खेलमा पोखरा पल्टन, दोस्रोमा एक्स्पर्ट धनगढी ब्लुज र तेस्रो खेलमा हुलास काठमाडौं रोयल्ससंग पराजित भएको थियो ।
अघिल्ला तीन खेल गुमाईसकेको विराटनगरको प्ले अफ यात्रा गणितीय सम्भावना मात्र छ । विराटनगरले ३ खेलबाट अंक जोड्न सकेको छैन । तर, प्ले अफ पुग्ने विराटनगरको झिनो आशा छ । विराटनगर बुटवलविरुद्ध जित निकाल्दै प्ले अफ पुग्ने आशालाई कायम राख्न चाहन्छ ।
तर, जारी प्रतियोगितामा निकै बलियो देखिएको बुटवलविरुद्ध जित निकाल्न विराटनगरलाई फलामको च्युरा चपाउनु सरह हुनेछ । किनकी जारी प्रतियोगितामै बुटवल हुलास काठमाडौंपछि अपराजित रहने अर्को टोली हो ।
बुटवलले २ खेलबाट ४ अंक जोडेको छ । र, बुटवल शीर्ष स्थानमा छ । बुटवलले पहिलो खेलमा बलियो टिम चितवन राइनोज र दोस्रो खेलमा पोखरा पल्टनलाई हराईसकेको छ ।
यस्तोमा बुटवल विराटनगरविरुद्ध जित निकाल्दै तेस्रो जितको खोजीमा हुनेछ ।