पोखरा । पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेपछि बुटवल ब्लास्टर्सका कप्तान सोमपाल कामीले जितले टोलीको आत्मविश्वास बढेको बताएका छन् ।
नेपाली क्रिकेट इतिहासकै सर्वाधिक पुरस्कार राशीको पीपीएल क्रिकेट अन्तर्गत बुटवलले आइतबार घरेलु टोली तथा शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनलाई ३३ रनले हराएको थियो ।
बुटवलको जितमा म्यान अफ दि म्याच रोहन मुस्तफा भिम सार्कीले उत्कृष्ट खेलेका थिए । भिमले ५४ रनको अर्धशतकीय इनिङस खेल्दा मुस्तफाले ४५ रन बनाएका थिए ।
पोखरालाई हराएपछि कप्तान सोमपालले भने, 'जितले खुसी लाग्छ । र, टिमको हौसला बढेको छ । टिमले राम्रो गरिरहेको छ । रोहन र भिमको ब्याटिङ महत्वपूर्ण थियो । उनीहरुले राम्रो गर्यो ।'
पहिलो खेलमा चितवन राइनोजलाई हराएको बुटवलले दोस्रो खेलमा पोखरालाई शिकार बनाएको हो । र, जितसंगै शीर्ष स्थानमा रहेको बुटवलले २ खेलबाट ४ अंक जोडेको छ ।
यो जितपछि बुटवलको शीर्ष स्थानमा रहदै फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । तर, कप्तान सोमपालले क्रिकेटमा सम्भावना सबैको उत्तिकै रहने बताउदै लगातार जितको लागि फोकस हुने बताए ।
'क्रिकेट हो भन्न सकिन्न । सबै खेल नयाँ हुन्छ । जिरोबाट खेल्नु पर्छ । तेस्रो खेल कस्तो हुन्छ । त्यसैले अब अर्को खेलमा फोकस गर्नेछौं,' कप्तान सोमपालले भने ।
कप्तान सोमपालले पीपीएलको लागि रोहनलाई बोलाउदा उत्साहित भएर एकै पटकमा आउन तयार भएको बताए । त्यस्तै उनले रोहनले उच्च प्रदर्शन गर्दै बुटवललाई फाइनलसम्म पुर्रयाउने दाबी गरे ।
'हामीले अनुबन्ध गर्नु अघि नै रोहनले ट्वीट गरेका थिए । उ नेपालमा आएर खेल्दा एकदमै खुसी छ,' कप्तान सोमपालले थपे ।
म्यान अफ दि म्याच बनेका मुस्तफाले भने टिमको प्रदर्शनले आफुले सफलता हात पारेको बताए ।
युएईका कप्तान स,इत रहेका मुस्तफाले भने, 'राम्रो प्रदर्शन भयो । खुसी छु । मैले ब्याटिङ र बलिङमा राम्रो गरे । तर, टिमको प्रदर्शनले हामीले जित निकाल्न सफल भयौ ।'