पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा अहिले बुटवल ब्लास्टर्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले घरेलु टोली पोखरा पल्टनलाई जितका लागि १५१ रनको लक्ष्य दिएको छ । बुटवलले दिएको १५१ रनको लक्ष्यसहित शरद भेषवाकरको टिम पोखराले जवाफी ब्याटिङ गर्नेछ ।
घरेलु टोलीविरुद्ध मध्यम सुरुवात गरेपनि बुटवलले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १५० रन जोड्न सफल भयो । बुटवलका लागि भिम सार्कीले ५४ रनको अर्धशतकीय इनिङस खेले । उनले ४६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै रोहन मुस्तफाले ४५ रन जोड्दा कप्तान सोमपाल कामीले २२ रन जोडे । सिद्दान्त लोहनी १३ रनमा आउट भए । पोखराका मोहमद नाभिदले ३ विकेट लिए ।
पहिलो खेलमा जित निकालेको दुवै टोली लगातार दोस्रो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा बुटवलले शनिबार पारस खड्काको टिम चितवन राइनोजलाई ७० रनले हराएको थियो । जितसंगै २ अंक जोडेको बुटवल शीर्ष स्थानमा छ ।
२ अंक जोडेको पोखरा लिगको तेस्रो स्थानमा छ । पोखराले विराटनगरलाई हराएको थियो ।