काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको ट्रफी प्रधानमन्त्रीलाई देखाउने कार्यक्रम रद्ध भएको छ । गत शुक्रबार नेपाल आएको विश्वकप क्रिकेटको ट्रफी आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई देखाउने कार्यक्रम रहेको थियो ।
स्वास्थ्य अवस्था प्रतिकुल बनेपछि प्रधानमन्त्री ओलीले सार्वजनीक कार्यक्रमका साथै भेटघाटलाई निकै पातलो गरेका छन् । उनी शनिबार नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागि भएनन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले विश्वकप ट्रफी प्रधानमन्त्रीलाई देखाउने कुनै कार्यक्रम नभएको खेलपाटीलाई बताए । 'ट्रफी सम्बन्धि कुनैपनि कार्यक्रम छैन । दिउँसो मन्त्रीपरिषदको बैठकमा मात्र प्रधानमन्त्री सहभागि हुने कार्यक्रम छ ।' उनले भने ।
गत शुक्रबार नेपाल आएको ट्रफीलाई आईतबार बिहान चन्द्रागिरीमा प्रर्दशनीमा राखिएको थियो । ट्रफीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका पहिलो कप्तान उत्तम कर्मचार्य र पुर्व कप्तान पवन अग्रवालले संयुक्त रुपमा सार्वजनीक गरेका थिए ।
आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले समेत प्रधानमन्त्रीलाई ट्रफी देखाउने कार्यक्रम रद्ध भएको बताईन् ।
शनिबार बिहान ट्रफीलाई पोखरा रंगशालामा प्रर्दशन गरिएको थियो । ट्रफीलाई सोमबार बसन्तपुर क्षेत्रमा सर्वसाधारणलाई अवलोकनका लागि राखिनेछ ।