पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज (आइतबार) हुने पहिलो खेलमा विराटनगर टाईटन्स र एक्स्पर्ट धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा सन्दीप लामिछानेको टिम विराटनगर र दिपेन्द्र सिंह ऐरीको धनगढीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । र, एक अर्काविरुद्ध मैदान उत्रदा विराटनगर र धनगढीको लक्ष्य पहिलो जित हुनेछ ।
दुवै टोलीले अघिल्ला खेल गुमाएको थियो । पहिलो खेलमा विराटनगर पोखरा पल्टनसंग ५८ रनले पराजित भएको थियो । यस्तै धनगढी हुलास काठमाडौं रोयल्ससंग १७ रनले पराजित भएको थियो । त्यसैले उपाधि होड कायम राख्न दुवैलाई जितको खाँचो छ ।
अंक बिहिन विराटनगर चौथो र धनगढी पुछारमा छ । समान २ अंक जोडेको बुटवल शीर्ष काठमाडौं दोस्रो र पोखरा तेस्रो स्थानमा छ । यस्तोमा विराटनगर र धनगढीबीचको खेल प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
धनगढीविरुद्ध मैदान उत्रदा विराटनगरका मुख्य हतियार सन्दीप हुनेछन् । यस्तै राजेश पुलामी, राजु रिजाल,सुनिल धमला, शाहब आलम, जितेन्द्र मुखिया, प्रदिप ऐरी जस्ता राष्ट्रिय टिमबाट खेलिसकेका उत्कृष्ट खेलाडीहरुको साथ छ । त्यसैले धनगढीलाई चुनौती दिने अनुमान गरिएको छ ।
यता, सन्दीपको टिमलाई रोक्न धनगढीसंग युवा खेलाडीको बाहुल्यता रहेको छ । राष्ट्रिय टोलीका सदस्य दिलीप नाथसंगै मन्जित श्रेष्ठ, योगेन्द्र सिंह कार्की, सन्तोस भट्ट, रोबिन क्षेत्रि, सन्दीप सुनार,कमल सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, निर्दोष अन्सारी, सौरभ खनाल, बिक्रम ठगुन्ना र सन्दीप रजाली जस्ता युवा खेलाडीको साथ रहेको छ ।
यस्तै इंग्ल्यान्डका दुई खेलाडी ड्यान लरेन्स र पिटर डेभिड ट्रेगो टिममा रहदा धनगढी बलियो छ ।