इलाम । झापाको बिर्तामोडमा जारी तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि पाँचथरको श्री सिंह सिद्धदेवी ङोलो क्लब र धरान फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा मोरङको पथरी शनिश्चरे महिला एफसीलाई २–० को गोल अन्तरले पराजित गर्दै पाँचथरले धरानसंगको उपाधि भेट पक्का गरेको हो ।
पाँचथरको जितमा प्रिया कार्की र मनिता लिम्बुल गोल गरे । खेलको ३६ औँ मिनेटमा पाँचथरकी प्रिया कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।
पथरीकी सरिता राईले अनिता लिम्बूलाई पेनाल्टी एरिया भित्र लडाएपछि पाएको अवसरलाई कार्कीले सदुपयोग गरिन् । त्यस्तै, खेलको ४२ औँ मिनेटमा मनिता लिम्बूले टिमका लागि दोस्रो गोल गरिन् ।
खेलको पहिला हाफमा पथरी हावी देखिए पनि दोस्रो हाफमा पाँचथर खेलमा फर्किएको थियो । खेलको प्लेयर अफ द म्याच पाँचथरकी अनिता लिम्बू भइन् । उनलाई आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले नगद प्रदान गरे ।
धरानले हिजो रोयल एफसी दमकलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । फाइनल खेल पुस १५ गते तमु ल्होसारको दिन हुनेछ ।