काठमाडौं। एउटा महिनाको अन्तरालमै अर्जेन्टिनाले पुनः भेनेजुएलासँग खेल्ने भएको छ। अक्टोबरमा हुने फिफा विन्डोमा लिओनल स्कालोनीको टोलीले दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ।
पहिलो खेल भेनेजुएलाविरुद्ध र अर्को खेल पोर्तो रिकोविरुद्ध हुनेछ। यी दुवै खेल अमेरिका मै हुनेछन्। गत अगस्ट ५ मा विश्वकप छनोटमा अर्जेन्टिनाले भेनेजुएलासँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा लिओनल मेसीको दुई गोलसहित अर्जेन्टिनाले ३–० को सहज जित हात पारेको थियो।
अक्टोबरको खेलका लागि सुरुआती चरणमा अर्जेन्टिनाको चिनियाँ यात्रा हुने चर्चा भए पनि त्यो सम्भव भएन। त्यसपछि मेक्सिकोसँग खेल्ने हल्ला चलेको थियो। तर, सम्झौताका कारण त्यो पनि भएन। अन्ततः फेरि भेनेजुएलासँग खेल्ने सहमति भएको हो।
अर्जेन्टिना फुटबल संघ (एएफए)का अनुसार अक्टोबर १० मा मियामीको हार्ड रक स्टेडियममा अर्जेन्टिनाले भेनेजुएलासँग खेल्नेछ। यही मैदानमा अर्जेन्टिनाले सन् २०२४ को कोपा अमेरिकाको उपाधि जितेको थियो।
दोस्रो खेल अक्टोबर १३ मा शिकागोको सोल्जर फिल्डमा हुनेछ, जहाँ अर्जेन्टिना पोर्तो रिकोसँग भिड्नेछ। हाल फिफा वरियतामा पोर्तो १५७ औं स्थानमा छ। यी दुई खेलपछि अर्जेन्टिनाले नोभेम्बरमा अफ्रिका र एसिया यात्रा गर्नेछ।
नोभेम्बर १० देखि १८ सम्म लुआन्डा (अङ्गोलाको राजधानी) र भारतको केरला प्रदेशमा दुईवटा मैत्रीपूर्ण खेल हुनेछ। तर ती खेलका प्रतिस्पर्धी अझै तोकिएको छैन।