काठमाडौं । नेपाल घोढचडी संघले एफईआई सोलिडारिटी अन्तर्गतको जम्पिङ प्रशिक्षक कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ ।
एफईआई सोलिडारिटीसँगको सहकार्यमा, एसियन घोडचडी महासंघ, राष्ट्रिय खेलकुद परिषद्सँग मिलेर घोडचडी संघले शैक्षिक कार्यक्रमका साथै जम्पिङ्गमा प्रशिक्षक कोर्स सफलतापूर्वक सम्पन्न गरेको हो ।
घोडचडी प्रशिक्षकहरुको प्राविधिक दक्षता र व्यवसायीक विकासलाई सुदृढ गर्ने उद्धेश्यले सञ्चालन गरिएको कार्यक्रममा २० जनाको सहभागीता रहेको घोडचडी संघले जनाएको छ ।
जम्पिङ्ग प्रशिक्षणसँगै घोडाहरुको स्वास्थ्य जाँच लगायतका विषयमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिईएको संघका अध्यक्ष रविराज राजकर्णिकारले बताए ।
कार्यक्रमको दौरान एफईआई वल्ड च्याम्पियनसिपको समेत प्रर्दशन गरिएका थियो । जसबाट सहभागी खेलाडी तथा अफिसियलले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताका लागि महत्वपुर्ण अनुभव प्राप्त गरेको संघले जनाएको छ ।
कार्यक्रममा एफईआईबाट नियुक्त भएका बिज्ञहरु प्रेद्राग मरजानोभिक, रक्शान रादपुर, प्रबल प्रताप सिंह, डा हसनेयन मिर्जा लगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको समापनमा राखेप सदस्य सचिव टंकलाल घिसिङले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा नेपाल ओलम्पिकको तदर्थ कमिटीका अध्यक्ष धुव्रबहादुर प्रधान, घोडचडी सहित विभिन्न संघहरुका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको आयोजनाले नेपालमा घोडचडीको स्तरलाई अभिवृद्धि गर्न महत्वपुर्ण कदमको रहने संघका अध्यक्ष राजकर्णिकारले बताए । एफईआईको समावेशीकरण, शिक्षा र दिगो विकास प्रबद्र्धन गर्ने विश्वव्यापी अभियानसँग नेपाललाई अझ सुदृढरुपमा जोड्ने कार्यक्रम फलदायी भएको उनले बताए ।