काठमाडौं । बार्सिलोनाका पूर्व कप्तान तथा मिडफिल्डर आन्द्रेस इनिस्टाले बार्सिलोनासँग अहिले एल क्लासिको र ला लिगा जित्न सक्ने टिम रहेको बताएका छन् ।
जापानी क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका इनिस्टाले बार्सिलोनासँग अझै बलियो टिम रहेको बताएका हुन् ।
रियल मड्रिड र बार्सिलोनाबीचको एल क्लासिको भिडन्त अघि इनिस्टाको यस भनाई आएको हो ।
'मलाई लाग्छ बार्सिलोनाका प्रशंसकहरु सधैं एल क्लासिकोका लागि आशावादी हुन्छन् । उनीहरु खेलको र जितको लागि छन्,' इनिस्टाले भने, 'बार्सिलोनासँग एल क्लासिको र ला लिगा जित्ने टिम छ । मलाई आशा छ कि उनीहरु राम्रो खेल्नेछन् र तीन अंक पाउने छन् ।'
स्पेनिस ला लिगाकै बहुचर्चित पहिलो एल क्लासिको भिडन्त अक्टोबर २४ मा क्याम्प नाउमा हुनेछ ।
यस्तै सान्टियागो बर्नाबेउमा हुने दोस्रो एल क्लासिको भिडन्त मार्च २० मा हुनेछ ।
स्पेनिस मिडफिल्डर इनिस्टा हाल जापानी क्लब भिसेल कोबेसँग आवद्ध छन् । उनी त्यस टिमको कप्तान समेत हुन् ।