काठमाडौं । सन् २०१७ मा प्रतिबन्धात्मक आदेशको उल्लंघन गरेका फ्रान्स तथा बायर्न म्युनिखका डिफेन्डर लुकास हर्नान्डेजलाई अक्टोबर २८ तारिखभित्र स्वइच्छाले जेलमा जान समय दिइएको छ ।
सन् २०१७ मा तत्कालिन प्रेमिका तथा अहिलेको श्रीमति अमेलिया डि ला ओसा लोरेन्टेविरुद्धको घरेलु हिंसा मुद्दामा उनीमाथि लागेको प्रतिबन्धात्मक आदेशलाई उल्लंघन गरेको आरोपमा २५ वर्षीय हर्नान्डेजलाई मड्रिडको एक अदालतले गत हप्ता ६ महिनाको जेल सजाय सुनाएको थियो ।
हर्नान्डेज सोमबार मड्रिड अदालतमा उपस्थित भए र उनलाई अब स्वइच्छाले ६ महिनाको जेल सजाय सुरु गर्न उनीसँग १० दिनको समय बाँकी छ । सन् २०१७ को घटनामा उनलाई दुईवटा सजाय सुनाइएको थियो ।
आफ्ना तत्कालिन गर्लफ्रेन्डसँग झगडा गरेपछि हर्नान्डेजलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले एक अर्काविरुद्ध कुनै उजुरी नदिएपनि दुबैलाई ३१ दिन सामुदायिक सेवा गर्नुपर्ने सजाय सुनाइएको तथा ६ महिनासम्म एकअर्कासँग भेटघाट नगर्न आदेश दिएको थियो ।
तर, चार महिनापछि गर्लफ्रेन्डसँग यात्रा गरिरहेको भेटेपछि प्रहरीले हर्नान्डेजलाई पक्राउ गरेको थियो । लोरेन्टेसँग अमेरिकामा बिहे गरेर मड्रिड फर्केपछि सन् २०१९ डिसेम्बरमा हर्नान्डेजलाई आदेश नमानेको भन्दै ६ महिनाको जेल सजाय सुनाइएको थियो ।