काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा डर्टमण्डले बेसिकटासलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
डर्टमण्डको जितमा जुड बेलिंगहम र अर्लिङ हालाण्डले एक एक गोल गरे ।
बेसिकटासका फ्रान्सिस्को मोन्टेरोले एक गोल फर्काए ।
खेलको २० औं मिनेटमा बेलिंगहमले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
यससँगै बेलिंगहमले लगातार दुई च्याम्पियन्स लिग खेलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका छन् ।

बेलिंगहमले १८ वर्ष ७८ दिनमा गोल गर्दै सर्वाधिक कान्छा खेलाडीको कीर्तिमान बनाएका हुन्।
बेलिंगहमले पीएसजीका फरवार्ड केलियन एमबाप्पेको कीर्तिमान भङ्ग गरेका हुन्। एमबाप्पेले २०१७ मा १८ वर्ष ८५ दिन हुँदा गोल गर्दै कीर्तिमान बनाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा फ्रान्सिकोले एक गोल फर्काएपनि डर्टमण्ड २-१ ले विजयी भयो ।
जितसँगै समूह सी को डर्टमण्डले १ खेलमा ३ अंक जोडेको छ । डर्टमण्ड शीर्ष स्थानमा रहेको छ ।
च्याम्पियन्स लिग अन्तर्गत नै अर्को खेलमा सेरिफले साख्तरलाई २-० ले हराएको छ ।