४१ वर्षपछि फाइनलमा भारत र पाकिस्तानको भेट

काठमाडौं। दुबईमा आइतबार क्रिकेट प्रेमीले ऐतिहासिक क्षणको अनुभव गर्ने भएका छन्। ४१ वर्षअघि सुरु भएको एसिया कपको इतिहासमा पहिलोपटक भारत र पाकिस्तान फाइनल भिडन्तमा आमनेसामने हुने पक्का भएको छ।
बिहीबार सम्पन्न सुपर फोको निर्णायक खेलमा पाकिस्तानले बंगलादेशलाई ११ रनले हराउँदै फाइनल यात्रा तय गर्यो। यसअघि भारतले बंगलादेशमाथि ४१ रनको जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गरिसकेको थियो।
अब सेप्टेम्बर २८ (आइतबार) मा दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने उपाधि भिडन्तमा दुई चिरप्रतिद्वन्द्वी आमनेसामने हुनेछन्। पाकिस्तानले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो। एक चरणमा ४९ रनमै ५ विकेट गुमाएर संकटमा परेको टोलीलाई मोहम्मद हारिस (३१), मोहम्मद नवाज (२५) र शाहिन अफ्रिदी (१९) ले उकासे।
जवाफमा बंगलादेश १२४ रनमा सीमित रह्यो। पाकिस्तानका शाहिन शाह अफ्रिदी र हारिस रऊफले तीन–तीन विकेट लिए भने सैम अयुबले दुई तथा मोहम्मद नवाजले एक विकेट हात पारे।
बलिङमा चम्किएका दुवै टोली
बंगलादेशका तास्किन अहमदले ३ विकेट, ऋशाद हुसैन र महेदी हसनले २–२ विकेट लिए। तर, १३६ रनको साधारण लक्ष्य पनि पूरा गर्न नसक्दा बंगलादेश फाइनल दौडबाट बाहिरियो।
एसिया कप सन् १९८४ मा सुरु भएको हो। भारतले अहिलेसम्म ८, श्रीलंकाले ६ र पाकिस्तानले २ पटक उपाधि जितेका छन्। तर, प्रतियोगिताको लामो इतिहासमा भारत र पाकिस्तानबीच फाइनल कहिल्यै भएको थिएन।
यो संस्करणमा भने दुवै टोली अन्तिम चरणसम्म पुगेका छन्। अझ विशेष कुरा यसअघि समूह चरणमा भारतले पाकिस्तानलाई दुईपटक हराइसकेको छ। त्यसैले आइतबारको फाइनलमा पाकिस्तानका लागि चुनौती थप कठिन हुने अनुमान गरिएको छ।