रियलसँग अंक दूरी घटाउँदै बार्सिलोना
-1758851654439.webp&w=3840&q=75)
काठमाडौं। बार्सिलोनाले गोलकिपर जोआन गार्सियाको ठूलो गल्तीलाई पन्छाउँदै स्पेनिस ला लिगामा नवप्रवेशी ओभिएदोमाथि ३–१ को जित दर्ता गरेको छ।
बिहीबार राति भएको खेलमा गार्सियाले ३३औं मिनेटमा पेनाल्टी क्षेत्र छाडेर बाहिर निस्कँदा बल गुमाएपछि घरेलु टोलीका अल्बर्टो रेइनाले करिब ३५ मिटर टाढाबाट सानदार गोल गर्दै ओभिएदोलाई अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफमा बार्सिलोना उत्कृष्ट लयमा फर्कियो। एरिक गार्सिया (५६औं मिनेट), रोबर्ट लेवान्डोव्स्की (७०औं मिनेट) र रोनाल्ड अराउजो (८८औं मिनेट) मा गोल गर्दै क्याटलान क्लबलाई ६ खेलमा पाँचौं जित दिलाए।
यो नतिजासँगै बार्सिलोना लिग तालिकामा १६ अंकसहित दोस्रो नम्बरमा उक्लिएको छ। तर, रियल मड्रिडभन्दा बार्सिलोना दुई अंकले पछाडि छ। रियलले मंगलबार लेभान्टेलाई ४–१ ले हराउँदै लगातार छैटौं जित निकालेको थियो।
गार्सियाको गल्ती, रेइनाको ऐतिहासिक गोल
एस्पान्योलबाट यसै समरमा बार्सिलोनामा आएका गार्सियाले टर स्टेगनको शल्यक्रियापछि पहिलो रोजाइमा मौका पाएका थिए। तर, ३३औं मिनेटमा लामो पास रोक्न निस्कँदा उनले बललाई क्लियर गर्न खोज्दा बीचमै रेइनाको खुट्टासम्म पुर्याइदिए।
रेइनाले मौका पाउँदै एक टचमै प्रहार गरे, जुन बल बार्सिलोना डिफेन्डरहरूलाई पार गर्दै जालीमा प्रवेश गर्यो। ‘गोलकिपरले गल्ती गरेको देखें र प्रहार गर्ने निर्णय गरें। प्रहार गरेको क्षणमै मलाई गोल हुने विश्वास थियो। यो मेरो पहिलो डिभिजन गोल हो, म कहिल्यै बिर्सिने छैन,’ रेइनाले भने।
बार्सिलोनाको पुनरागमन
५६औं मिनेटमा फेरान टोरेसको प्रहार पोस्टमा ठोकिएपछि एरिक गार्सियाले रिबाउन्डमा गोल गर्दै बराबरी गराए। त्यसपछि ७०औं मिनेटमा फ्रेन्की डे योंगको क्रसलाई लेवान्डोव्स्कीले हेडरमार्फत जालीमा पुर्याए।
८८औं मिनेटमा मार्कस रासफोर्डले लिएको कर्नरलाई रोनाल्ड अराउजोलाई हेडिङ गोलमा परिणत गर्दै जित सुनिश्चित गरे। बार्सिलोना प्रशिक्षक हान्सी फ्लिकले भने,‘गार्सिया सामान्यतया उत्कृष्ट हुन्छन्। एउटा गल्ती भयो। तर, टोलीले फर्केर जित निकाल्यो, यही नै सबैभन्दा महत्वपूर्ण कुरा हो।’
दुई दशकपछि पहिलो डिभिजनमा फर्किएको ओभिएदोले यसअघि पाँच खेलमा जम्मा १ गोल मात्र गरेको थियो। अनुभवी मिडफिल्डर सान्ति काजोर्लाले नेतृत्व गरेको टोलीले यसअघि रियल सोसिडाडमाथि १–० को जित निकालेको थियो, बाँकी सबै खेलमा हार बेहोरेको छ।