काठमाडौं । लिड्स युनाईटेडका डिफेन्डर पास्कल स्ट्रुजिकले तीन खेलको प्रतिबन्ध व्यहोर्ने भएका छन् ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलविरुद्धको खेलमा पाएको रातो कार्डको कारण पास्कललाई तीन खेलको प्रतिबन्ध लागेको हो ।
लिड्सले रातो कार्ड फिर्ताको लागि अपिल गरेको थियो । तर, प्रिमियर लिगले रातो कार्डको अपिल खारेज गरेको छ ।
अब उनले प्रिमियर लिग अन्तर्गत न्युकासल युनाईटेड र वेस्ट ह्याम तथा काराबाओ कपमा फुलहमविरुद्धको खेल गुमाउने छन् ।

लिभरपुलका मिडफिल्डर हार्भे इलियटलाई खराब ट्याकल गरेपछि पास्कलले रातो कार्ड पाएका थिए। जुन खेलमा लिभरपुलले ३-० को जित निकालेको थियो ।
पास्कलको खराब ट्याकलले इलियटले गम्भीर चोट बोकेका थिए । उनी स्ट्रेचरको सहायताबाट मैदानबाट बाहिरिएका थिए।
इलियटले खुट्टाको एंकलमा चोट बोकेका थिए । उनको चोटको शल्यक्रिया समेत गरिएको छ ।