काठमाडौं । 'ए' डिभिजन क्लब न्युरोड टिम एनआरटीलाई खेल पोशाक कम्पनी केल्मीले प्रायोजन गरेको छ।
एनआरटी र केल्मीबीच बुधबार प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रदिप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
केल्मीले चार वर्षको लागि एनआरटीलाई प्रायोजन गरेको हो । सम्झौतासँगै केल्मी क्लबको किट पार्टनरको रुपमा रहने छ ।
सम्झौतासँगै एनआरटीलाई आवश्यक खेलकुद सामाग्री केल्मीले उपलब्ध गराउनेछ ।
एनआरटीले आगामी सहिद स्मारक 'ए' डिभिजन लिगमा केल्मीको जर्सी लगाउने छ ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।

सम्झौतापछि केल्मीका प्रबन्ध निर्देशक न्यौपानेले एनआरटीसँगको सहकार्य लामो समयसम्म जाने विश्वास व्यक्त गरे ।
'लामो इतिहास बोकेको क्लबसँग सम्झौता गर्न पाउँदा धेरै खुसी लागेको छ । ४ वर्षको सम्झौता हो । सम्झौता ४० वर्ष पुगोस भन्ने कामना छ,' उनले भने ।
क्लबका अध्यक्ष जोशीले केल्मीसँग जोडिन पाउँदा खुसी लागेको बताए ।
'आधिकारिक रुपमा प्रायोजन सम्झौता गर्न पाउदा खुसी लागेको छ । यो पहिलो कदम हो । ढिलै भएपनि यस कार्यको थालनी भएको छ । छलफल गर्दै अघि बढ्ने छौँ,' उनले भने ।