काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारले मिडफिल्डर मनाग्य नकर्मीसँगको सम्झौता नवीकरण गरेको छ ।
थ्री स्टारले सोमबार युवा मिडफिल्डर नकर्मीसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
नेपाली यू-१६ टोलीका सदस्य नकर्मी सन् २०१९ मा थ्री स्टारमा आबद्द भएका थिए ।
काठमाडौंमा आयोजना भएको चौथो संस्करणको साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा खेल्ने नेपाली टोलीमा नकर्मी रहेका थिए ।
अघिल्लो पटकको 'ए' डिभिजन लिगबाट उनले शीर्ष लिगमा डेब्यु गरेका थिए ।
सरस्वती युथ क्लबविरुद्धको खेलबाट उनले थ्री स्टारमा डेब्यु गरेका थिए ।
सहिद स्मारक 'ए' डिभिजन लिग र राष्ट्रिय लिग नजिकिदै गर्दा थ्री स्टारले नकर्मीसँगको सम्झौता नवीकरण गरेको हो ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ । राष्ट्रिय लिगको मिति भने तय भएको छैन ।

थ्री स्टारले यस अघि मिडफिल्डर आयुश घलान, डोना थापा र डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको थियो ।
यस्तै कप्तान बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ,मिडफिल्डर सन्जोक राई र निशान खड्कासँगको सम्झौता नवीकरण गरेको थियो ।
थ्री स्टारले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।