रजत पदक विजेता सुनमाया स्वदेश फर्किईन्
काठमाडौं । ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बुढा स्वदेश फर्किएकी छिन् ।
स्पेनमा सम्पन्न विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत पदक जितेकी सुनमाया मंगलबार बिहान नेपाल फर्किएकी हुन् ।
बुढालाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
महासंघका सचिव शहदेव ब्यञ्जनकार, कोषाध्यक्ष रीकी योञ्जन, सदस्य राजमान महर्जन लगायतले बुढालाई बिमानस्थलमा स्वागत गरेका थिए ।
विश्व माउन्टेन रनिङ एसोसियसनले विश्व एथलेटिक्स र इन्टरनेश्नल एसोसियसन अफ अल्ट्रारनर्ससँग मिलेर आयोजना गरेको विश्व च्याम्पियनसिपमा सुनमायाले रजत पदक हात पारेकी थिईन् । उनले ८० किलोमिटरको महिला लङ ट्रेल रनको दुरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पुरा गरेकी थिईन् ।
नेपाल एडभेन्चर फेडेरेसनले प्रतियोगितामा नेपालबाट बुढा सहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई सहभागी गराएको थियो ।