हङकङ सिक्सेसमा नेपालसहित १२ टोली खेल्ने

काठमाडौं। हङकङ क्रिकेटको प्रतिष्ठित प्रतियोगिता हङकङ सिक्सेसमा नेपालसहित १२ राष्ट्र सहभागी हुने भएका छन्। प्रतियोगिता नोभेम्बर ७ देखि ९ सम्म टिन क्वोङ रोड रिक्रिएसन ग्राउन्डमा हुनेछन्।
३३ वर्षको इतिहास बोकेको हङकङ सिक्सेस विश्वकै अनौठो प्रारूपमा खेलिने क्रिकेट प्रतियोगिता हो। विगतमा यसले दर्जनौँ विश्वप्रसिद्ध स्टारहरूलाई आकर्षित गरिसकेको छ भने धेरै युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय मञ्चमा उदाउने ढोका पनि बनेको छ।
नेपाल समूह ‘ए’ छ। यो समूहमा दक्षिण अफ्रिका (ए१) र अफगानिस्तान पनि छ। प्रतियोगितामा भारत, पाकिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड, श्रीलंका, बंगलादेश र हङकङ (चीन) जस्ता शीर्ष टोली पनि सहभागी हुनेछन्।
प्रतियोगितामा प्रत्येक खेल ६ ओभरको हुनेछ र प्रत्येक टिममा ६ खेलाडी रहनेछन्। विकेटकिपर बाहेक सबैले एक-एक ओभर बलिङ गर्नेछन् र एक बलरले दुई ओभर फ्याँक्न पाउने नियम हुनेछ।