अन्तिम खेलमा नेपालको १० विकेटको हार

काठमाडौं। नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक सिरिज क्लिन स्वीप गर्ने मौका गुमाएको छ। मंगलबार सम्पन्न अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको हो। योसँगै सिरिजमा नेपाल २-१ ले अगाडि रह्यो।
टेस्ट टोलीसँग पहिलोपल्ट सिरिज खेलेको नेपालले १९ र ९० रनको जित हात पार्दै एक खेलअगाबै सिरिज आफ्नो पक्षमा पारेको थियो। तर, ऐतिहासक अवसरमा भने चुकेको हो।
नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो।
यसपल्ट नायक भने ओपनरद्वय अमीर जोङ्गु र अकिम अगुस्टे बने। यी दुई खेलाडीले अविजित इनिङ्स खेल्दै नेपालविरुद्ध क्लिन स्वीप हुनबाट टोलीलाई जोगाए।
अमीरले ४५ बलमा ५ चौका र ६ छक्कासहित ७४ रन बनाए। अकिमले पनि २९ बलमा ४ चौका र २ छक्कासहित ४१ रनको योगदान दिए।
त्यसअघि शारजाह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो।
नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। २९ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे।
कप्तान रोहितकुमार पौडेल १७ रनमा आउट भए। अन्य ब्याटरको प्रदर्शन सम्झनयोग्य रहेन।
वेस्ट इन्डिजका रमोन सिमन्ड्सले सर्वाधिक चार विकेट लिए।