विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ मा हुने फिफा विश्वकपका खेल स्थल असुरक्षित वा जोखिमपूर्ण ठहरिए अन्यत्र सारिने बताएका छन्।
विश्वकपलाई सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न यस्तो निर्णय लिन सकिने बताउँदै उनले स्वदेशमै आलोचना भोग्नुपरेको छ। साथै, फिफामाथि ट्रम्पको अधिकार कति छ भन्ने प्रश्न पनि उठेको छ।
सन् २०२६ को विश्वकप संयुक्त रूपमा अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन्। यसका लागि १६ खेल स्थल तोकिएका छन्, जसमा ११ अमेरिका, ३ मेक्सिको र २ क्यानडामा पर्छन्।
इतिहासकै सबैभन्दा ठूलो विश्वकप मानिएको यस संस्करणलाई लिएर ट्रम्पले ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै भने,‘यदि कुनै शहर असुरक्षित देखियो भने त्यहाँ खेल हुन दिनेछैनौं, खेल स्थल अन्यत्र सारिनेछ।’
उनले अपराध दर बढेको आरोप लागेका सहरहरूलाई लक्षित गर्दै उल्लेख गरे,‘गत हप्तामात्र इलीनोइस राज्यमा ११ हत्या र ३८ जना गोली हानिएका घटना भए। त्यहाँका गभर्नरले अपराध दर घटेको दाबी गरेका छन्, तर यदि कुनै सहरलाई हामीले जोखिमपूर्ण ठानेर पनि त्यहाँ खेल गरायौं भने त्यो गल्ती हुनेछ।’
ट्रम्प प्रशासनले पछिल्ला वर्षमा आप्रवासी नियन्त्रण र अपराध दमन अभियान चलाउँदै आएको छ। यस क्रममा वाशिङटन डीसी, सियाटल र सान फ्रान्सिस्कोजस्ता सहरलाई असहयोगी ठहर गरिएको छ। तर, २०२६ विश्वकपमा सियाटलको लुमेन फील्डमा ६ खेल र सान फ्रान्सिस्कोको लिभाइस स्टेडियममा पनि ६ खेल आयोजना गर्ने योजना छ।
ट्रम्पको चेतावनीले यी दुई स्थल रद्द हुने सम्भावना बढाएको विश्लेषकहरूको धारणा छ। तर, विश्वकप खेल स्थल परिवर्तन गर्ने वास्तविक अधिकार अमेरिकी राष्ट्रपति वा प्रशासनसँग नभई फिफासँग मात्र हुन्छ।
यद्यपि, फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग ट्रम्पको निकट सम्बन्ध भएकाले उनले त्यो प्रभाव प्रयोग गर्ने आशंका समेत व्यक्त गरिएको छ।