काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सानदार जितसहित नयाँ सिजनको सुरुवात गरेको छ ।
शनिबार भएको आफ्नो पहिलो खेलमा लिड्स युनाईटेडलाई ५-१ गोल अन्तरले पराजित गर्दै युनाईटेडले उत्कृष्ट सुरुवात गरेको हो ।
घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले ह्याट्रिक पूरा गरे । यस्तै मासन ग्रीनउड र फ्रेडले एक एक गोल गरे ।
लिड्सका लुक आयलिङले एक गोल फर्काए ।

ओल्ड ट्राफोर्डमा खेलको ३० औं मिनेटमा पाउल पोग्बाको पासमा ब्रुनोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ४८ औं मिनेटमा लुकले गोल गर्दै लिड्सलाई १-१ को बराबरीमा फर्काए ।
त्यसपछि युनाईटेडले पाहुना टोलीविरुद्ध लगातार गोल गर्यो ।
खेलको ५२ औं मिनेटमा पोग्बाको पासमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए ।
५४ औं मिनेटमा ब्रुनोले पोग्बाकै पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-१ को अग्रता दिलाए ।
खेलको ६० औं मिनेटमा भिक्टर लेन्डीलोफको पासमा ब्रुनोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा घरेलु टिम ४-१ ले अघि रह्यो । ब्रुनो यस सिजन ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बने ।

त्यसपछि खेलको ६८ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई ५-१ को सानदार जित दिलाए ।
फ्रेडले पनि पोग्बाको पासमा गोल गरेका हुन् । लिड्सविरुद्धको फराकिलो जितमा पोग्बाले चार असिस्ट गरे ।
जितसँगै युनाईटेडले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । युनाईटेड तालिकाको शीर्ष स्थानमा रहेको छ ।
लिड्सले भने हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।

लिड्सविरुद्धको खेलबाट युवा विंगर जेडन सान्चोले युनाईटेडका लागि डेब्यु गरेका छन् ।
सान्चो खेलको ७५ औं मिनेटमा डानिल जेम्सको स्थानमा मैदान प्रवेश गरेका थिए ।


