काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले मिडफिल्डर रुपेश केसीलाई अनुबन्ध गरेको छ ।
कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले आसन्न 'ए' डिभिजन र राष्ट्रिय लिगका लागि रुपेशलाई अनुबन्ध गरेको हो ।
मनाङले रुपेशसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ ।
ललितपुरे 'ए' डिभिजन क्लब थ्री स्टारमा चार वर्ष बिताएर रुपेश मनाङ फर्किएका हुन् ।
अनुभवी मिडफिल्डर रुपेशले अघिल्लो पटकको 'ए' लिग थ्री स्टारबाट खेलेका थिए ।
उनले थ्री स्टारको कप्तानी समेत गरेका थिए ।

अब कात्तिकबाट सुरु हुने शीर्ष डिभिजनको लिग र राष्ट्रिय लिगमा उनले मनाङको जर्सी लगाउने छन् ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ । राष्ट्रिय लिगको मिति भने तय भएको छैन ।
रुपेशले नेपालको पहिलो फ्रेन्चाईच फुटबल नेपाल सुपर लिग फुटबल (एनएसएल) धनगढी एफसीबाट खेलेका थिए ।
एन्फा एकेडेमीबाट हुर्किएका रुपेशले हिमालयन शेर्पा क्लबबाट समेत खेलेका छन् ।
रुपेशले सन् २०१२ को नेहरु कपमा राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
