काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा कुन टिमको प्रदर्शन कस्तो भनेर हामीले छोटकरीमा विश्लेषण गरिरहेका छौं । यसअघि १० टिमको विश्लेषण सकिसकेको छ, अब थप पाँच टिमको ।
बेलायती पत्रिका मिररको सहयोगमा गरिएको यस आलेखमा अबको पालो केही ठूला टिमको । धेरैको अनुमान के छ भने यसपल्टको लिग उपाधिमा खालि चार टिम हुनेछन् ।
ती हुन्, डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँगै म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सी । त्यसमध्ये चेल्सीको चर्चा दोस्रो भागमा भइसकेका छ, अब बाँकी तीनको पनि ।
लिभपुरपुल
सायद लिभरपुललाई अब खेलाडीको चोटको चिन्ता रहेन् । त्यसैले हामीले सम्भवत: सन् २०१९/२०२० को जस्तो लिभरपुल देख्न पाउन सक्छौं । त्यसो हो भने लिभरपुलले फेरि एकपल्ट लिग उपाधि जित्न सक्छ । म्यानचेस्टर सिटीलाई फेरि उपाधि जित्नबाट रोक्न सक्नेमा योर्गन क्लोपको लिभरपुल पनि पर्छ । यो मर्सिसाइड क्लबले यस्तै गर्ने हो भने उसको सबैभन्दा ठूलो काम हुनेछ, घरेलु एनफिल्डमा राम्रो नतिजा निकाल्ने । गत सिजन घरमै लिभरपुलले साह्रै खराव खेलेको थियो ।
म्यानचेस्टर सिटी
म्यानचेस्टर सिटीलाई फेरि एकपल्ट इंग्लिस प्रिमियर लिग जित्न धेरै गाह्रो नहन सक्छ, भलै यसका लागि कडा परिश्रम आवश्यक छ । सिटीले जित्न नसकेको भनेको युरोपेली च्याम्यिपन्स लिग नै हो । पेप ग्वार्डिओलाका लागि त यो प्रतिष्ठाकै विषय भइसकेको छ । केही खेल पण्डित के सम्म पनि भन्छन् भने सिटीलाई घरेलु लिग र कप जित्नबाट रोक्न गाह्रै छ । उसको खास परीक्षा भनेको युरोपमै हो । हुन पनि सिटीको टिममा कुन चाहिं पक्ष पो कमजोर छ र ?
म्यानचेस्टर युनाइटेड
म्यानचेस्टर युनाइटेडलाई लिएर सबैभन्दा महत्त्वपूर्ण तथ्य, व्यवस्थापकमा ओले गन सोल्सार आएयता क्लबले अहिलेसम्म पनि एउटै उपाधि जित्न सकेको छैन् । यो समर्थकका लागि निकै निराशाजक पक्ष हो । अब अर्को उत्तिकै महत्त्वपूर्ण तथ्य, म्यानचेस्टर उपाधि जित्ने उपलब्धीबाट नजिक नजिक भने छ । जाडोन सान्चो र राफेल भरानो आएपछि पक्कै पनि टिम अझ बलियो बनेको छ । फेरि टिममा स्टार खेलाडीको कमी नै छैन्, खालि टिमले कहिले उपाधि जित्ने भन्ने मात्र हो ।
न्युकालस युनाइटेड
इंग्लिस फुटबलमा न्युकासल युनाइटेड खुबै लोकप्रिय क्लबमा पर्छ, तर यसको पछिल्लो इतिहास भने पक्कै गर्विलो छैन् । न्युकासल जत्तिको क्लबले यसपल्ट पनि रेलिगेसनबाट बच्न नै खेल्नेछ । यो आफैमा निकै दुखद परिस्थिति हो । पछिल्ला दुई सिजन यस्तै आरोप लागेको भए पनि न्युकासल खासमा रेलिगेसनमा भने परेन् । यस्तोमा क्लबको उद्देश्य यसपल्ट शीर्ष १० मा प्रवेश हुन सक्छ । टिमका प्रशिक्षक स्टिभ ब्रुसको खेलाउने शैलीलाई लिएर प्रश्न गर्ने पनि उत्तिकै छन्, यो अर्को खराव पक्ष हो ।
नर्विच
माथिल्लो डिभिजनमा उक्लेपछि नर्विच र यसका समर्थकको खुसी हेरिनसक्नु हुन्छ । तर यही क्लब सबैभन्दा पहिले रेलिगेसनमा पर्ने पनि हुन्छ । क्लबको इतिहासमै उसले खालि तीन पल्ट मात्र माथिल्लो डिभिजनमा बाँच्न सकेको छ । यो आफैमा निकै खराव इतिहास हो । त्यसैले भन्नै पर्छ, यसपल्ट पनि नर्विचले रेलिगेसनबाट बच्नकै लागि खेल्नेछ । बचे, त्यही उपलब्धी । त्यसैले मुख्य प्रश्न हो, नर्विचले इतिहासबाट किन पाठ सिक्दैन् ? किन गोल र बारुदविना नै युद्धको मैदानमा उत्रिन्छ ?