काठमाडौं । विश्व क्लब फुटबलको सर्वाधिक लोकप्रिय इंग्लिस प्रिमियर लिगको नयाँ संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ ।
यसपल्टको लिगको सबैभन्दा ठूलो विशेषता रहेको छ, रंगशालामा पूर्णत दर्शकको प्रवेश । यस्तोमा लिगको रौनकता नै बेग्लै हुनेछ ।
लिगमा सहभागी क्लबको स्थिति कस्तो छ त ?
त्यसबारे हामीले छोटकरीमा विश्लेषण गर्ने प्रयास गरेका छौं र यसका लागि बेलायती पत्रिका मिररको सहयोग लिएका छौं । यो त्यसको पहिलो भाग रहेको छ ।
आर्सनल
आर्सनलको यसपल्ट एकै मात्र उद्देश्य रहनेछ र त्यो हो, अंक तालिकाको शीर्ष चारमा प्रवेश पाउने । आर्सनलले च्याम्पियन्स लिगमा नखेलेको पनि पाँच सिजन भइसकेको छ । अहिले आर्सनलसँग त्यस्तो टिम छ, जसले शीर्ष चारका लागि चुनौती पेस गर्न सक्छ । तर यो पक्कै पनि सजिलो काम हुने छैन् । क्लबको प्रदर्शन कस्तो हुने हो, त्यो धेरै हदसम्म व्यवस्थापक मिखेल आर्टेटामा पनि भर पर्नेछ । उनी कत्तिका राम्रा प्रशिक्षक हुन्, त्यसमा कुनै शंका छैन् ।
एस्टन भिल्ला
एस्टन भिल्लाले आफ्ना प्रमुख खेलाडी रहेका ज्याक ग्रेलिसलाई कति धेरै गुमाएको महसुस गर्ने हो, त्यो हेर्न लायक हुनेछ । ग्रेलिसले म्यानचेस्टर सिटीलाई आफ्नो गन्तब्य बनाइसकेका छन् । त्यसो त उसले केही नयाँ खेलाडी पक्कै भित्र्याएको छ र त्यसमा प्रमुख नाम रहेको छ, ड्यानी इंग्स । भिल्लाले यसपल्ट युरोपा लिगको लक्ष्य राख्न सक्छ । तर भिल्लाले कमजोर सुरुआत लियो भने त्यो अन्त्यसम्म पनि क्लबका लागि संघर्ष गर्नु पर्ने बाध्यता बन्न सक्छ ।
ब्रेन्टफोर्ड
प्रिमियर लिगका लागि ब्रेन्टफोर्ड नयाँ हो भने ब्रेन्टफोर्डका लागि प्रिमियर लिग उत्तिकै नयाँ । निकै लामो समयपछि इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा फर्केको ब्रेन्टफोर्डसामु रहेको सबैभन्दा ठूलो चुनौती हो, के उसले आफूलाई रेलिगेसनबाट बचाउन सक्छ त ? पूरा सिजन लन्डनको यो क्लबका लागि यही चुनौती हुनेछ । यस सिजनको पहिलो खेल नै ब्रेन्टफोर्डको रहेको छ, त्यो पनि छिमेकी आर्सनलविरुद्ध । यो खेलले धेरै हदसम्म टिम के कस्तो छ, त्यो देखाउने छ ।
ब्राइटन
सबथोक आफूले चिताए जस्तै हुने हो भने सम्भवत: ब्राइटनले युरोपेली फुटबलका लागि चुनौती पेस गर्न सक्छ । गत सिजन पनि उसकै आफ्ना केही सामान्य भुलका कारण ब्राइटनले युरोपमा खेल्ने अवसर गुमाएको थियो । ब्राइटनको टिम कस्तो छ भने उसले लिगका ठूला टिमलाई पनि चुनौती पेस गर्न सक्छ । ठीक यही बेला डर के पनि छ भने ब्राइटनका केही खास खेलाडी चल्न सकेन् भने उसलाई डर पनि रहनेछ, कहीं अंक तालिकाको पुछारमा दबाब सहनु पर्ने त होइन ?
बर्नली
बर्नलीले फेरि एकपल्ट इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा रहनकै लागि संघर्ष गर्नेछ, त्यसमा कुनै शंका नगरे हुन्छ । तर ठीक यहींनिर खुसीको तथ्य के छ भने बर्नलीले प्रिमियर लिगमा आफूलाई कसरी बचाउनु पर्छ, त्यो जानेको छ । बर्नलीका लागि लिगमा बच्नु र कपतिर राम्रो नतिजा निकाल्नु खास उद्देश्य हुन सक्छ । तर पनि पूरा सिजन बर्नलीमाथि खालि एउटै डर हुनेछ र त्यो रेलिगेसन नै हो । फेरि क्लबले कोही राम्रा नयाँ खेलाडी किनेको पनि छैन् ।