काठमाडौं । अभिषेक रिजालले मछिन्द्र क्लबसंग सम्झौता नविकरण गरेका छन् ।
मछिन्द्रले सोमबार सामाजिक सञ्जालमार्फत अभिषेकसंग सम्झौता नविकरण गरेको सार्वजनिक गरेको छ ।
यस वर्षको ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुदैछ ।
राष्ट्रिय फुटबल टिमका फरवार्ड अभिषेकले नयाँ सिजनको ए डिभिजन लिगका लागि मछिन्द्र रोजेका हुन् ।
मछिन्द्र पछिल्लो संस्करणको ए डिभिजनको च्याम्पियन टोली हो । पछिल्लो सिजन समेत अभिषेकले मछिन्द्रबाट घरेलु लिग खेलेका थिए । तर लिगको दौरान उनी माल्दिभ्सको घरेलु लिग खेल्न विदेश गएका थिए ।
माल्दिभ्सबाट फर्किएपछि उनले घरेलु लिग खेल्न पाएका थिएनन् । अभिषेक नभएपछि मछिन्द्रले लिगको अन्तिम खेलमा विमल घर्तिमगरलाई मैदान उतारेको थियो ।
विदेशी लिगको अनुभव र सम्भावना खोज्न अभिषेक माल्दिभ्स पुगेका थिए ।
घरेलु फुटबलका युवा फरवार्ड अभिषेक पछिल्लो समय राष्ट्रिय टिममा पर्दै आएका छन् ।
नेपालले पछिल्लो साग फुटबलमा उपाधि जिताउन उनको योगदान महत्वपुर्ण थियो ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अभिषेकलाई विश्वास गर्दै आएका छन् ।
अभिषेकले नयाँ प्रशिक्षकको नेतृत्वमा राष्ट्रिय टिमबाट पछिल्लो समय विश्वकप छनोट र इराकमा मैत्रीपूर्ण फुटबल समेत खेलेका थिए ।
अभिषेकले गत जेठमा सम्पन्न फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा बुटवल लुम्बिनीबाट खेलेका थिए ।
मछिन्द्रले आईतबारमात्र राष्ट्रिय फुटबल टिमका युवा फरवार्ड मनिष डाँगीलाई क्लबमा अनुबन्ध गरिएको जनाएको थियो ।
मछिन्द्रले पछिल्लो सिजन लिग च्याम्पियन बनाएका अधिकांश खेलाडीलाई टिममा आबद्ध गरेको छ ।
जसमा राष्ट्रिय टिमका सुनिल वल समेत थपिएका छन् । उनी च्यासलबाट यस सिजन मछिन्द्रमा अनुबन्ध भएका हुन् ।