कल्किनको राष्ट्रिय कीर्तिमान

काठमाडौं । कल्किन श्रेष्ठले ११ औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर फ्रि स्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
भारतको अहमदाबादस्थित वीर सभरकर स्पोर्ट्स कम्प्लेक्समा बुधबार कल्किनले निर्धारित दूरी ९ मिनेट १२ दशमलव ६२ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरे ।
कल्किनले सन् २०१३ मा शिरीष गुरुङले एनएसए कप पौडी प्रतियोगितामा बनाएको १० मिनेट ०० दशमलव ८५ सेकेन्डको कीर्तिमान ताडेका हुन् ।
यसै स्पर्धामा अथर्व सिंहले पनि ९ मिनेट १६ दशमलव ९१ सेकेन्डको प्रदर्शन गर्दै शिरीषको कीर्तिमानलाई उछिनेका थिए ।
बुधबारै नेपाली खेलाडीले ४ गुणा १ सय मिटर फ्रि स्टायलमा रिलेमा पनि राष्ट्रिय कीर्तिमान बनाए । अभिभ प्रधान, जाडेन श्रेष्ठ, रेवन्तबहादुर श्रेष्ठ र अल्भिन महर्जन सम्मिलित टोलीले ३ मिनेट ४७।७३ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाए ।
उनीहरुले सन् २०२४ मा भारतको नयाँ दिल्लीमा भएको विम्स्टेक एक्वेटिक्स च्याम्पियनसिमा बनेको ३ मिनेट ४८ दशमलव ५७ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।
नेपाली खेलाडीले प्रतियोगितामा योसहित जम्मा ४ राष्ट्रिय कीर्तिमान स्थापित गरे ।
यसअघि अथर्वले १ हजार ५ सय मिटर फ्रिस्टायल १७ मिनेट ४३ दशमलव ५७ सेकेन्ड तथा ४ सय मिटर व्यक्तिगत मिड्लेमा ४ मिनेट ५८ दशमलव ३४ सेकेन्डको कीर्तिमान बनाएका थिए । उनले पनि शिरीषकै नाममा रहेको दुवै कीर्तिमान भंग गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का पौडी मुख्य प्रशिक्षक समेत रहेका टोलीका प्रशिक्षक शंकर कार्कीले एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताउदै खेलाडीले हिट चरण पनि पार गर्न सकेको बताए ।