चेल्सीलाई सेन्टर फरवार्डको अभाव

लण्डन । चेल्सीले च्याम्पियन्स लिगमा अगाडिको भूमिकामा टाइरिक जर्जलाई पहिलो रोजाइ बनाएको छ। प्रश्न उठ्छ, किन ?
गत मंगलबार जोसे मोरिन्होको नेतृत्वमा रहेको बेनफिकामाथि १ शुन्यको जित निकाल्दा जर्जले पहिलो एक घण्टा खेले। उनको प्रदर्शन खासै प्रभावशाली रहेन। आँकडाले पनि देखाउँछ— उनले जम्मा एक पटक मात्र प्रहार गरे र १५ पटक मात्र बल छोए। विपक्षी पेनाल्टी क्षेत्रमा उनको पहिलो टच ४५औं मिनेटमा आएको थियो। खेल भने रिचार्ड रिओसको आत्मघाती गोलमार्फत जितियो।
सामान्य अवस्थामा यस्तो नतिजाले अर्को खेलमा सुरु गर्ने सम्भावना न्यून हुन्छ। अझ त्यसमाथि १९ वर्षीय जर्ज मुख्यतया विङ्गमा खेल्न रुचाउँछन्, स्ट्राइकर होइन। तर चेल्सीका मुख्य प्रशिक्षक एन्जो मारेस्काले बेनफिकाविरुद्धको जितपछि नै उनले आगामी घरेलु खेल अजाक्सविरुद्ध पनि केन्द्र अग्रपंक्तिमा खेल्न सक्ने संकेत दिए।
चेल्सीले पछिल्ला तीन वर्षमा १ अर्ब पाउन्डभन्दा बढी खर्चेर खेलाडी किनिसकेको क्लब हो। तर अहिले उनीहरू शून्य लागतमा आएको युवा खेलाडीमा निर्भर देखिएका छन्। यो योजनाबद्ध थिएन, परिस्थिति र दुर्भाग्यले क्लबलाई यहाँ पुर्याएको हो।
आक्रमण पंक्तिमा दुर्भाग्यको श्रृंखला
नयाँ साइनिङ जोआओ पेद्रोले पहिलो छ खेलमा पाँच गोल गरेका थिए तर पछिल्ला पाँच खेलमा गोलविहीन छन्। बेनफिकाविरुद्ध पनि उनी प्रारम्भिक टोलीमा थिएनन्, केवल सब्स्टिच्युटको रूपमा मैदान छिरे। तर दुई पहेँलो कार्ड पाएपछि रातो कार्डले खेलबाट निकालिए र अब अजाक्सविरुद्ध नखेल्ने भए। पेद्रोलाई पनि अग्रपंक्तिभन्दा ‘नम्बर १०’ भूमिकामा बढी सहज मानिन्छ।
सबैभन्दा परम्परागत नम्बर ९, लिअम डेलाप, गम्भीर ह्यामस्ट्रिङ चोटका कारण नोभेम्बरसम्म बाहिर छन्। त्यसपछि क्लबले मार्क गुइउलाई सनडरल्यान्डबाट फिर्ता बोलाए, तर उनलाई अहिलेसम्म मिनेट दिइएको छैन। किनभने एक पटक चेल्सीका लागि खेलेपछि फेरि ऋणमा पठाउन नपाइने नियमले उनको भविष्यलाई प्रभावित गर्न सक्छ।
यसैबीच, निकोलास ज्याक्सनलाई बायर्न म्युनिक पठाइएको छ, जहाँ उनले पहिलो गोल र असिस्ट पनि गरिसकेका छन्। यदि उनलाई राखिएको भए अहिले चेल्सीका लागि महत्त्वपूर्ण हुन्थे। तर डेलाप र पेद्रोको आगमनपछि उनले तेस्रो रोजाइमा सीमित हुने भन्दै बाहिरिन खोजे।

अन्य विकल्प ?
पेद्रो नेटोलाई अग्रपंक्तिमा सार्दा विङ्गमा क्षति हुन्छ। कोल पाल्मर चोटग्रस्त छन्। एकेडेमीका १७ वर्षीय शिम मेहुकाले भने अण्डर २१ / १९ टोलीमा ९ खेलमा १० गोल गरिसकेका छन् तर उनी अझै अपरिपक्व छन्।
मोरिन्होको दृष्टि
चेल्सीका पूर्व प्रशिक्षक मोरिन्होले बेनफिकाविरुद्धको खेलअघि नै क्लबलाई “फेरि बाटोमा फर्किएको” र च्याम्पियन्स लिग जित्ने क्षमता रहेको बताएका थिए। तर इतिहास हेर्दा, उनले प्रशिक्षक हुँदा चेल्सीसँग सधैं तीन–चार आक्रमण विकल्प हुन्थे, डिडियर ड्रोग्बाबाट डिएगो कोस्टासम्म।
तर अहिलेको अवस्थाले चेल्सीको कमजोरी प्रष्ट्याएको छ। डेलाप र पेद्रो पुनः फिट भएर फर्केपछि मात्र क्लबले सशक्त आक्रमण पंक्ति बनाउन सक्ने देखिन्छ।
-द एथलेटिकबाट