काठमाडौं । लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबले नाईजेरियन प्रशिक्षक फुजा तापेलाई क्लबमा भित्राएको छ । असोज १३ गतेबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगलाई लक्षित गर्दै मनाङले नाईजेरियाका प्रशिक्षकलाई क्लबमा अनुबन्धन गरेको हो ।
मनाङका महासचिव मुखिया लामाले नाईजेरियन प्रशिक्षकको अनुबन्धनको पुष्टि गर्दै क्लबले उनकै नेतृत्वमा ए डिभिजन लिगमा सहभागिता जनाउने बताए । सन् २००१ मा नाईजेरियाको ओशिश फुटबल एकेडेमीबाट प्रशिक्षक करियर सुरु गरेको फुजाले सन् २००५ मा काठमाडौंको सरस्वती युथ क्लबलाई प्रशिक्षण दिएका थिए ।

लगत्तै अर्को बर्ष मछिन्द्र क्लबमा आबद्ध भएका उनले ७ महिना काम गरेका थिए । त्यसपछि लामो समय उनले भारतका विभिन्न क्लबमा फिटनेश र मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए । उनले भारतको पहिलो डिभिजन क्लब मोहम्मेदन स्पोर्टस क्लब कोलकत्तामा समेत लामो समय प्रशिक्षण गराएका थिए ।
नेपाल घुम्न आएको समय मनाङले उनलाई क्लबमा अनुबन्धन गर्न सफल भएको छ ।
मनाङले लिग उपाधि जित्ने लक्ष्य सहित अफ्रिकन खेलाडी ओलावले अफिजलाई क्लबमा भित्राईसकेको छ ।