एजेन्सी । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्त आज (आइतबार) राति हुँदैछ ।
एल क्लासिकोमा रियलले घरेलु मैदानमा बार्सिलोनालाई आथित्यमा प्रदान गर्दैछ । सान्टियागो बेर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
दुवै टिम जित निकाल्दै आफुलाई उपाधिको प्रमुख दाबेदार रहेको प्रमाणित गर्न चाहन्छन् । यस खेल दुवैको लागि महत्वपूर्ण समेत रहेको छ ।
बार्सिलोनाका प्रशिक्षक क्वेक सेटिनले आफ्नो टिमको लागि भन्दा यस खेल महत्वपूर्ण रहेको बताएका छन् ।
"उनीहरूका लागि यो महत्वपूर्ण खेल हो । निर्णायक होईन । तर, हाम्रो लागि यो अझ महत्त्वपूर्ण छ किनकि हामीले जित्यौं भने हामी पाँच अंकले अघि रहने छौँ,' सेटिनले भने ।
लिगमा शीर्ष स्थानको बार्सिलोना रियल भन्दा २ अंकले अघि रहेको छ । बार्सिलोनाले ५५ अंक जोडेको छ भने रियलले ५३ अंक जोडेको छ ।
बार्सिलोना जित निकाल्दै रियलविरुद्धको अग्रता थप फराकिलो बनाउन चाहन्छ ।
यता, रियल भने घरेलु मैदानमा जितसहित शीर्ष स्थानमा उक्लन चाहन्छ । बार्सिलोनालाई हराउँन सके रियल १ अंकको अग्रतासहित शीर्ष स्थानमा उक्लने छ ।
रियलका मुख्य प्रशिक्षक जिनेदान जिदानले ९० मिनेट मैदानमा उत्कृष्ट खेल्ने बताएका छन् ।
'हामीले हाम्रो सोच सकारात्मक बनाउनु पर्छ । बाहिर के भईरहेको छ हामी सुन्दैनौं,' जिदानले भने, 'हामीलाई चाहिएको हाम्रा प्रशंसकहरू पहिलो देखि ९० मिनेटसम्म रहनेछन् । म बुझ्दछु उहाहरु निराश छन् तर हामीलाई उनीहरूको खाँचो छ ।'
यस भिडन्तमा दुवै टोलीलाई चोट बोकेका खेलाडीको अभाव हुनेछ ।
बार्सिलोनासँग लुइस स्वारेज, ओसुमाने डेम्बेले, सेर्गी रोबर्टो र जोर्डी अल्बा हुने छैनन् । तर, हालै अनुबन्ध भएका फरवार्ड मार्टिन ब्रैथवेटलाई बार्सिलोनाले मैदान उत्राने छन् ।
यता, रियलसँग इडेन हाजार्ड हुने छैनन् । तर, रियलसँग कप्तान सर्जियो रामोस र ग्यारेथ बेल उपलब्ध हुनेछ ।