धनगढी । सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज ( आइतबार ) अन्तिम सेमिफाइनल खेल हुँदैछ ।
कैलाली हसनपुरस्थित धनगढी रंगशालामा हुने दोस्रो सेमिफाइनलमा 'ए' डिभिजनका दुई क्लब थ्री स्टार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र शेर्पाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । विजेताले उपाधिका लागि मंगलबार आयोजक सुदूरपश्चिम-११ को सामना गर्नेछ । सोमबार भएको खेलमा विभागीय टिम एपीएफलाई २-१ गोल अन्तरले पराजित गर्दै आयोजक पहिलो पटक उपाधि नजिक पुगिसकेको छ ।
थ्री स्टारले क्वाटरफाइनलमा नव जन जागृती क्लबलाई २-० ले पराजित गरेको थियो । शेर्पाले गोर्खा ब्वाइज क्लब रुपन्देहीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । दुवै टिमले बाइ पाएर सिधै क्वाटरफाइनल खेलेको थियो ।
प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।