काठमाडौं । मोफसलको बहुप्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा गोल्डकप फुटबलमा 'ए' डिभिजनका ७ क्लबसहित १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गर्दै १८ औं संस्करणको प्रतियोगितामा ७ शीर्ष डिभिजन क्लबसहित १० टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
पोखरा रंगशालामा हुने प्रतियोगिता फागुन २२ देखि चैत १ गतेसम्म हुनेछ ।
प्रतियोगितामा 'ए' डिभिजनका साविक विजेता थ्री स्टार र उपविजेता त्रिभुवन आर्मीसहित मनाङ मर्स्याङ्दी क्लब, ब्रिगेड ब्वाईज क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र संकटा क्लबले खेल्ने छन् । यस्तै झापा-११, भारतको गान्टोक सिटी फुटबल क्लब, भारत र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार प्राप्त गर्दा उपविजेताले ५ लाख १ हजार पाउने छन् । यस संस्करणको पुरस्कार राशीमा वृद्धि गरिएको हो ।
हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेस्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।