एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा फरवार्ड अर्लिङ हालाण्डले फुटबलमा 'रोल मोडल' आफ्नो बुबा रहेको बताएका छन् ।
१९ वर्षकै उमेरमा क्लबका लागि सनसनी प्रदर्शन गरिरहेका हालाण्डले फुटबलमा प्रेरणाको स्रोत आफ्नो बुबा अल्फ इङ हालाण्ड रहेको बताएका हुन् ।
'म सधैं आफुलाई एक व्यवसायिक फुटबल खेलाडी भएको चाहन्थे । जुन मेरो जीवन हो,' हालाण्डले बुन्डेसलिगासँग भनेका छन्, 'मेरो बुबा मेरो लागि ठुलो रोल मोडेल हुनु हुन्छ। उहाले नर्वेको लागि ३४ खेल खेल्नु भएको छ । त्यो भन्दा राम्रो गर्ने लक्ष्य पनि छ ।
अर्लिङ हालाण्डको बुबा अल्फ इङ नर्वेका पूर्व डिफेन्सिभ मिडफिल्डर हुन् । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका पूर्व खेलाडी रहेका रहेका उनले नर्वेका लागि ३४ खेल खेलेका थिए ।
आफ्नो बुबालाई 'रोल मोडल' ठान्ने हालाण्डले यस सिजन कीर्तिमानी प्रदर्शन गरिरहेका छन् ।
गत मंगलबार राति हालाण्डले दुई गोल गरेपछि डर्टमण्डले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २-१ ले हराएको थियो ।
यस्तै हालाण्डले क्लब आएकै सिजन लिगको ७ खेलमा ११ गोल गरिसकेका छन् ।
हालाण्ड जनवरी ट्रान्सफरमा अष्ट्रियन क्लब रेड्बुल साल्जबर्गबाट डर्टमण्ड आएका हुन् । हालाण्डले क्लबसँग पाँच वर्षे सम्झौता गरेका छन् । हालाण्ड सन् २०२४ सम्म डर्टमण्डमा रहने छन् ।