काठमाडौं। हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) अन्तर्गत बुधबार भएको खेलमा रोयल्स र गोल्डेनगेट बास्केटबल क्लब विजयी भएका छन्। रोयल्सले टाइम्स बास्केटबल क्लबलाई हराएर लिगमा पहिलो पहिलो जित हात पारेको छ।
यसअघिका दुई खेलमा पराजित भएको रोयल्सले बुधबार टाइम्स क्लबलाई ८३–७१ ले पराजित गरेको हो। पहिलो जितपछि रोएल्सले ३ खेलबाट ३ अंक जोडेको छ। दोस्रो हार बेहोरेको टाइम्सको पनि ३ खेलबाट समान ३ अंक नै छ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा रोयल्सले पहिलो क्वाटरमा १९–१५ को अग्रता लिएको थियो। त्यसलाई कायम राख्दै रोयल्सले अन्त्यसम्म अग्रता लियो। रोयल्सले दोस्रो क्वाटर २०–१४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ३९–२९ को अग्रता बनाएको थियो।
रोयल्सले तेस्रो क्वाटर २०–१८ ले आफ्नो पक्षमा पारेको थियो। चौथो क्वाटरमा दुवै टिमले २४–२४ अंक स्कोर गरेका थिए। विजयी टिम रोयल्सका लागि प्रसाङ ध्वज मास्केले सर्वाधिक २६ अंक स्कोर गरे। टाइम्सका लागि मनिष केसि र मबिन्द्र भण्डारीले समान १७ अंक स्कोर गरे। रोएल्सका विनोद महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।
यस्तै बुधबारै भएको दोस्रो खेलमा गोल्डेनगेटले कीर्तिपुर बास्केटबल क्लबलको अपराजित यात्रा टुङ्गयाउँदै दोस्रो जित हात पारेको छ। गोल्डेनगेटले कीर्तिपुरलाई ९२–६५ ले पराजित गरेको हो। दोस्रो जितपछि गोल्डेनगेटले ३ खेलबाट ६ अंक जोडेको छ। पहिलो हार व्यहोरेको कीर्तिपुरको पनि ३ खेलबाट समान ६ अंक नै छ।
पहिलो क्वाटर गोल्डेनगेटले २९–२१ ले आफ्नो पक्षमा पारेको थियो। तर दोस्रो क्वाटरमा कीर्तिपुरले पुनरागमन गर्दै २४–१९ ले आफ्नो पक्षमा पारेपछि हाफटाइमसम्म गोल्डेनगेटले ४८–४५ को झिनो अग्रता बनाएको थियो।
तर तेस्रो र चौथो क्वाटर २१–९ र २३–११ ले आफ्नो पक्षमा पारेपछि गोल्डेनगेटले सहजै खेल जितेको हो। गोल्डेनगेटका लागि अजय कुश्वाहाले सर्वाधिक २२ अंक जोडे। उनी खेलको मोस्ट भ्यालुएबल प्लेअर पनि घोषित भए। कीर्तिपुरमा लागि सयुन राईले १७ अंक स्कोर गरे।