लुटियो बार्सिलोना !

काठमाडौं। फरवार्ड राफिन्हाले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा एट्लेटिको मड्रिडसँग पराजित हुँदै टोली बाहिरिएपछि रेफ्रीको निर्णयप्रति आलोचना गरेका छन्।
ह्यामस्ट्रिङको चोटका कारण खेल्न नसकेका राफिन्हाले खेलपछि एट्लेटिकोका समर्थकतर्फ संकेत गर्दै उनीहरूको टोली अर्को चरणमा बाहिरिने इशारा पनि गरेका थिए। उनले मेट्रोपोलिटानो रंगशालामा दर्शकतर्फ हातले ‘हामी लुटियौं’ भन्ने संकेत समेत गरेका थिए।
बार्सिलोनाले मंगलबार २–१ को जित निकाले पनि अघिल्लो साता घरेलु मैदानमा २–० ले पराजित भएको कारण समग्र नतिजाको आधारमा अघि बढ्न सकेन।
‘मेरो लागि यो लुटिएको जस्तो हो,’ उनले सञ्चारकर्मीहरूसँग भने,‘यो मात्र होइन, अघिल्लो खेल पनि। रेफ्रीको निर्णय निकै खराब थियो। एट्लेटिकोले धेरै फाउल गर्यो तर रेफ्रीले एउटा पनि पहेंलो कार्ड देखाएन।’
पहिलो लेगमा बार्सिलोनाका पाउ कुबार्सी रातो कार्ड पाएर मैदान बाहिरिएका थिए। मंगलबारको खेलमा एरिक गार्सियालाई ७९औं मिनेटमा रातो कार्ड देखाइएको थियो।
बार्सिलोनाले दुवै खेलमा अन्य रेफ्री निर्णयहरूप्रति पनि असन्तुष्टि जनाएको थियो। पहिलो लेगमा सम्भावित पेनाल्टी नदिएको भन्दै क्लबले युरोपेली फुटबल महासंघमा उजुरीसमेत गरेको थियो। मंगलबारको खेलमा पनि खेलाडीहरूले अर्को पेनाल्टी दाबी गरेका थिए।
‘बार्सिलोनाले जित्न नदिन र हामीसँग कस्तो डर छ भन्ने म बुझ्न चाहन्छु,’ राफिन्हाले भने। बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले पहिलो खेलपछि रेफ्रीको आलोचना गरेका थिए।
तर, दोस्रो लेगपछि भने यस विषयमा केही नबोल्ने बताएका छन्। उनले आफ्नो टोलीले राम्रो प्रदर्शन गरे पनि भाग्य साथ नदिएको बताए। ‘दुवै खेल हेर्दा हामी एट्लेटिकोभन्दा राम्रो थियौं,’ फ्लिकले भने,‘तर, अन्त्यमा परिणाम यही भयो, हामीले यसलाई स्वीकार गर्नुपर्छ।’
बार्सिलोनाको अर्को खेल ला लिगामा सेल्टा भिगोसँग हुनेछ। ३१ खेलपछि बार्सिलोना दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा ९ अंकले अघि छ।












