रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

नमिन ढकाल, इलाम। घरेलु टिम रेडहर्स फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै पथरी–११ फुटबल क्लब मोरङ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
इलामको ठुलो टुडिखेलमा शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा टाइब्रेकरमा ४–२ ले जित निकाल्दै पथरीले अन्तिम चारमा स्थान बनाएको हो।
निर्धारित समयमा दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए। पथरीको जितमा आशिष लावती, अनिल मगर, कप्तान युकेश तामाङ र पदम भट्टराईले गोल गरे। राम वाजीको प्रहार रेडहर्सका गोलरक्षक विवेक मगरले बचाएका थिए।
रडहर्सको तर्फबाट विवेक सुनाम र रोमन योगीले गोल गरे। सन्देश खवासको प्रहार बाहिरिएको थियो भने किरण सुनुवारको प्रहार पथरीका गोलरक्षक बिशाल डी मगरले बचाएका थिए। खेलको सुरुवाती समयमा लिएको अग्रता जोगाउन नसक्दा घरेलु टिम पहिलो पटक सेमिफाइनल पुग्न असफल भएको हो।
यसअघिका २ संस्करणमा घरेलु टिमले सेमिफाइनलसम्म स्थान सुरक्षित गरेको थियो। खेलको दोस्रो मिनेटमा सन्देश खवासको प्रहार साइड बारमा लाग्दै गोल हुन पुगेको थियो।
९० मिनेटको निर्धारित समयसम्म गोल गर्न असफल रहेको पथरीका लागि दोस्रो हाफको इन्जुरी समयमा सब्टिच्युट खेलाडी सौय राउतले गोल गर्दै बराबरीमा ल्याएका थिए।
खेलको ‘म्यान अफ दी म्याच’ पथरीका आशिष लावती घोषित भए। उनले नगद ८ हजार १ सय प्राप्त गरे। प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा रोलिङ क्ल्ब झापा र पाचथर फुटबल क्लब पाँचथरबीच प्रतिस्पर्धा हुनेछ।










-1776523830982.png&w=3840&q=75)
