आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा
भद्रपुर। त्रिभुवन आर्मी फुटबल क्लब प्रथम चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट सेमिफाइनलमा प्रवेश गरेको छ।
एकपक्षीय खेलमा आर्मीले पोखराको आरएस फुटबल क्लबलाई ६–० ले पराजित गरेको छ।
खेलको ११औं मिनेटदेखि नै आर्मीले गोलको सुरुआत गरेको थियो। आर्मीका लागि दिपा शाहीले पहिलो गोल गरिन्। विमला चौधरीले गरेको प्रहारलाई पोखराकी गोलकिपर मनिषा तामाङले नियन्त्रणमा लिन असफल हुँदा उनको हातबाट फुत्किएको बललाई चौधरीले पोष्टको दिशा दिइन्।
२६औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो। विमला चौधरीले एकल प्रयासमा डिबक्सबाहिरबाट गरेको चिप प्रहार गोलमा परिणत भएको थियो। २८औं मिनेटमा अर्को गोल थप्दै चौधरीले टिमका लागि जित सुनिश्चित गरिन्। सञ्जु कुमालले गरेको क्रस पासमा वान टचमा उनले गोल गर्न सफल भइन्।
खेलको ३५औं मिनेटमा चन्द्रा भण्डारीले आर्मीका लागि चौथो गोल गरिन्। दिपा शाहीले प्रहार गरेको कर्नरलाई हेडमार्फत उनले गोल गरेकी थिइन्।
पहिलो हाफ ४–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा २ गोल थप्यो। ५०औं मिनेटमा बिमला चौधरीले गरेको प्रहार गोल किपरले नियन्त्रणमा लिन नसकेपछि आर्मीकी स्ट्राइकर जेनिफर राना मगरले टिमको लागि पाँचौँ गोल गरिन्।
६२औं मिनेटमा चन्द्रा भण्डारीले डिबक्स बाहिरबाट दायाँ बार च्यापेर गरेको प्रहार गोलमा परिणत हुँदा खेलमा खासै लय बनाउन नसकेको पोखरा घर फर्किएको थियो। पोखराले आर्मीमाथि खेल अवधिभर विपक्षी पोष्टमा कुनै आक्रमण गर्न सकेन।
खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका विमला चौधरी भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन्।











-1776431484410.jpeg&w=3840&q=75)
