बेलबारी र रेडहर्स भिड्ने
रातो जर्सीमा रेडहर्स। फाइल तस्बिर
बिर्तामोड। चौथो बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो क्वार्टरफाइनलमा बेलबारी फुटबल क्लब मोरङ र रेडहर्स फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुँदैछ।
बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा दिउँसो ३ बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ। यसअघि प्रतियोगिताको हिजो भएको उद्घाटन खेलमा आयोजक बुट्टाबारी युनाइटेडले भारतको तरञ्जुबारी फुटबल क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको फाइनल खेल वैशाख १२ गते हुने छ।












