काठमाडौं । तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज शुक्रबार हुँदैछ ।
झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा हुने दोस्रो सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन र उपविजेता आर्मीबीचको खेल दिउँदो ३ बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछन् ।
मछिन्द्र र आर्मी एक साता नबित्दै प्रतिस्पर्धा गर्न लागेका हुन् । शनिबार भएको लिगको अन्तिम खेलमा आर्मीलाई १-० ले हराएर मछिन्द्रले लिगको उपाधि जितेको थियो ।
यस अघि क्वाटरफाइनलमा मछिन्द्रले गोर्खा ब्वाईज रुपन्देहीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
आर्मीले दार्जीलिङको एमएफसीलाई २-१ गोल अन्तरले हराएको थियो ।
विजेताले फाइनलमा थ्री स्टार क्लबको सामना गर्नेछ । आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार फाइनल पुगिसकेको छ ।
सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख नगद पाउने छ। उपविजेताले ३ लाख पाउने छ । यस्तै प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पाउने छन् ।
त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०/२० हजार पाउने छन् ।