लेखनाथ । दोस्रो संस्करणको बेगनास कप सेभेन 'ए' साईड फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ ।
आयोजक बेगनास युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ९ गते देखि १७ गतेसम्म हुने जनाएको छ ।
विकास, अनुशासन र गतिशीलता भन्ने उद्देश्यका साथ महाशिवरात्रीको अवसरमा आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । यस्तै उपविजेताले ५५ हजार ५सय ५५ हात पार्नेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही ५/५ हजार प्राप्त गर्नेछन् ।
वेगनासताल वाँध नजिकैको मैदानमा हुने प्रतियोगितामा करिब ३५ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिए ।

यस्तै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष राम बहादुर रानाभाटले जानकारी दिए । उनले फुटबल मैदान मर्मत, विभिन्न क्लबलाई पत्राचार, खेल सामग्रीको व्यवस्थापन लगायतका कामहरु सकिएको र केही कामहरु मात्र बाँकी रहेको बताए ।
प्रतियोगिता सम्पन्न गर्न ७ लाख ५० हजार खर्च लाग्ने र करिब ८ लाख आम्दानी हुने आयोजकले जनाएको छ ।