एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले न्युकासल युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको आर्सनलले दोस्रो हाफमा चार गोल गर्यो । खेलको ५४ औं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए ।

खेलको ५७ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए । खेलको ९० औं मिनेटमा मोसिट ओजिलले गोल गर्दा आर्सनल ३-० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा एलेक्सजेन्डर लाकाजेट्सले गोल गर्दै आर्सनललाई ४-० को फराकिलो जित दिलाए ।
जितसँगै आर्सनलले २६ खेलबाट ३४ अंक जोडेको छ । आर्सनल लिगको दशौँ स्थानमा रहेको छ । न्युकासल ३१ अंक जोडेको १३ औं स्थानमा रहेको छ ।