काठमाडौं । गत मंसिर २८ गतेबाट सुरु भएको देशकै शीर्ष डिभिजनको लिग शनिबारबाट सकियो । लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले पहिलो पटक लिगको उपाधि जित्यो ।
लिगमा मनाङ मर्स्याङ्दी क्लबका दिप कार्की उत्कृष्ट गोलरक्षक, थ्री स्टारका अनन्त तामाङ उत्कृष्ट डिफेन्डर, मछिन्द्रका विशाल राई 'बी' उत्कृष्ट मिडफिल्डर र आर्मीका भरत खवास उत्कृष्ट फरवार्ड चुनिए । यस्तै एनआरटीका दर्शन गुरुङ युवा खेलाडी चुनिदा मछिन्द्रका प्रवेश कटवाल उत्कृष्ट प्रशिक्षक चुनिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग सकिएको केहि घण्टापछि नै राष्ट्रिय टिमको प्रारम्भिक टोलीको घोषणा गर्यो । मुख्य प्रशिक्षक योहान कालिनले फिफा विश्वकप छनोट अन्तर्गत घरेलु भूमिमा हुने अष्ट्रेलियासँगको खेलका लागि प्रारम्भिक चरणमा ३१ खेलाडी बन्द प्रशिक्षणमा बोलाएका छन् ।
तर, लिगमा उत्कृष्ट गोलरक्षक बनेका दिप कार्की भने राष्ट्रिय टिमको प्रारम्भिक टोलीमै परेनन् । राष्ट्रिय टिमका नियमित सदस्य रहेका विकेश कुथु र विशाल श्रेष्ठसहित एलन न्यौपाने टिममा पर्दा दिप भने बाहिरिएका हुन् ।
यस्तै प्रशिक्षक कालिनले नियमित कप्तान किरण चेम्जोङलाई समेत बाहिर राखेका छन् । उनले कप्तान किरणसँगै रोहित चन्द, विमल घर्ति मगर, सन्तोष तामाङ, दिनेश राजवंशी र अभिषेक रिजाललाई पनि टिम बाहिर राखेका छन् ।
किरण भारतीय आई लिगमा व्यस्त रहँदा रोहित इन्डोनेसियन क्लब पर्सिजा जकार्तासँग प्रि-सिजनको तयारीमा व्यस्त छन् । अभिषेक माल्दिभ्सको दोस्रो डिभिजन लिग खेलिरहेका छन् ।
विमल, सन्तोष र दिनेश भने डिस्को काण्डपछि निलम्बनमा पर्दै हालै फुकुवा भएका थिए । यद्यपि डिस्को काण्डमै निलम्बित अन्जन बिष्टले भने टिममा पुनरागमन गरेका छन् ।
राष्ट्रिय टिमको प्रारम्भिक टोली आर्मीका सर्वाधिक ७ खेलाडी परेका छन् । यस्तै मछिन्द्रबाट ५ खेलाडी टिममा पर्दा पुलिस, थ्री स्टार, मनाङ र संकटाबाट समान ३–३ खेलाडीले प्रारम्भिक टोलीमा स्थान बनाएका छन् ।
लिगमा युवा खेलाडी बनेका दर्शन गुरुङले पहिलोपटक प्रारम्भिक टोलीमा स्थान बनाएका छन् ।
प्रारम्भिक टोली :
विकेश कुथु – आर्मी
सुमन अर्याल – आर्मी
विकास खवास – आर्मी
जर्ज प्रिन्स कार्की – आर्मी
भरत खवास – आर्मी
नवयुग श्रेष्ठ – आर्मी
सेसेहाङ आङ्देम्ब – आर्मी
विशाल श्रेष्ठ – मछिन्द्र
रजिन धिमाल – मछिन्द्र
देबेन्द्र तामाङ – मछिन्द्र
विशाल राई बी – मछिन्द्र
सुजल श्रेष्ठ – मछिन्द्र
अजित भण्डारी –नेपाल पुलिस
तेज तामाङ –नेपाल पुलिस
रबि पासवान –नेपाल पुलिस
अमित तामाङ – संकटा
सरोज दाहाल – संकटा
सुवास गुरुङ – संकटा
छिरिङ गुरुङ – च्यासल
एलेन न्यौपाने – च्यासल
सुनिल बल – च्यासल
अनन्त तामाङ –थ्री स्टार
बिक्रम लामा –थ्री स्टार
मिक्छेन तामाङ –थ्री स्टार
पुजन उपरकोटी – मनाङ
अन्जन बिष्ट – मनाङ
विमल राना – मनाङ
एरिक विष्ट – एनआरटी
दर्शन गुरुङ – एनआरटी
आशिष लामा – एपीएफ
दिलेन लिक्तान – जावलाखेल