काठमाडौं । विभागीय टिम एपीएफ क्लबका फरवार्ड आशिष लामा सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको सर्वाधिक गोलकर्ता बनेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सकिएको ४३ औं संस्करणको लिगमा एपीएफका आशिष सर्वाधिक गोलकर्ता बनेका हुन् ।
सहिद स्मारक 'ए' डिभिजन लिगका कीर्तिमानी गोलकर्ता सन्तोष साहुखललाई २ गोलले पछि पार्दै आशिष सर्वाधिक गोलकर्ता चुनिएका हुन् । आशिषले लिगमा कुल ९ गोल गरे । तर, उनको टिम एपीएफ भने ९ अंक जोडेर १२ औं स्थानमा रह्यो ।
च्यासल युथ क्लबका सन्तोष ७ गोल गर्दै दोस्रो स्थानमा रहे । सन्तोषले यस सिजन लिगमा १०० गोल पुरा गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । 'ए' डिभिजन लिगमा सन्तोषले हालसम्म कुल १ सय ३ गोल गरिसकेका छन् ।
यस्तै लिगमा सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा सरस्वती युथ क्लबका काजिम बुसारी रहे । उनले ६ गोल गरे । मनाङ मर्स्याङ्दी क्लबका विमल राना ६ गोलसहित चौंथो र मनाङकै अन्जन बिष्ट ६ गोलसहित पाचौं स्थानमा रहे ।
६ गोल गरेका आर्मीका नवयुग श्रेष्ठ छैटौं, ५ गोल गरेका हिमालयन शेर्पाका विजय श्रेष्ठ सातौं, ४ गोल गरेका शेर्पाकै स्टेफेन समिर आठौं, मछिन्द्रका सोमिडे एडिलाजा नवौं र मछिन्द्रका विशाल राई 'बी' दशौँ स्थानमा रहन सफल भएका छन् ।