एजेन्सी । म्यान्चेष्टर सिटीलाई युरोपियन क्लब प्रतियोगितामा आगामी दुई सिजन खेल्न प्रतिबन्ध लागेको छ ।
युरोपेली फुटबल महासंघले प्रियिमर लिग क्लब सिटीलाई आगामी दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न नपाउने गरि प्रतिबन्ध लगाएको हो ।
युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो ।
यस्तै प्रिमियर लिगको साविक विजेतालाई ३० मिलियन युरो समेत जरिवाना गरिएको छ । निर्णयबिरुद्द सिटीले कोर्ट अफ आर्बिटेशन अफ स्पोर्ट्समा अपिल गर्न पाउनेछ ।
सिटीले निर्णयले आफु निराश भएपनि कुनै अचम्मित नभएको बताएको छ ।
सिटीले प्रायोजन बापतको झुटो रकम देखाएको युईएफएले जनाएको छ । 'प्रायोजन बापतको रकम खातामा गलत देखाएर सन् २०१२ देखि २०१६ सम्म युईएफएमा बुझाएको देखिएको छ ।' युईएफएले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।
अनुसन्धानमा सिटीले सहयोग नगरेको आरोप समेत युईएफएले लगाएको छ । पछिल्लो प्रतिबन्धसंगै सिटीले आगामी दुई सिजन च्याम्पियन्स लिग खेल्न पाउने छैन ।
सिटीले गत सिजनमात्र च्याम्पियन्स लिगबाट ८६ मिलियन पाउण्ड आम्दानी गरेको थियो । दुई बर्ष च्याम्पियन्स लिगमा सहभागी हुन नपाउने भएपछि सिटीले कम्तिमा १ सय ७० मिलियन पाउण्ड रकम गुमाउनेछ ।