काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी रहेको गोकुलम केरेलाले हिरो महिला लिग फुटबलको उपाधि जितेको छ ।
बैंगलोरमा शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै गोकुलम च्याम्पियन बनेको हो । यससँगै गोकुलमले पहिलो पटक उपाधि जितेको छ ।
गोकुलमको जितमा प्रमेश्वरी देवी, कमला देवी र सावित्राले एक एक गोल गरिन् । क्रिप्साको लागि रतनबाला र डाङमेई ग्रेसले एक एक गोल फर्काए ।

रोमान्चक बनेको फाइनलमा खेलको ८७ औं मिनेटमा सावित्राले गोल गर्दै गोकुलमलाई च्याम्पियन बनाएकी हुन् । यस गोलसँगै सावित्रा लिगमा सर्वाधिक गोलकर्ता बनेकी छिन् । सावित्राले लिगमा १८ गोल गरिन् । दोस्रो स्थानमा रहेकी सन्ध्याले १३ गोल गरिन् ।
त्यसअघि खेलको दोस्रो मिनेटमा प्रमेश्वरीले गोल गर्दै गोकुलमलाई अग्रता दिलाएकी थिइन् । २५ औं मिनेटमा कमलाले गोल गर्दै गोकुलमको अग्रता २-० को बनाए । तर, ३४ औं मिनेटमा क्रिप्साकी ग्रेसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याईन ।
त्यसपछि खेलको ७३ औं मिनेटमा रतनबालाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएकी थिइन् । तर, अन्तिम समयमा सावित्रा नायक बन्दै गोकुलमलाई उपाधि दिलाउन सफल भईन् ।
सावित्राले लगातार दोस्रो सिजन भारतको लिग खेलेकी हुन् । गत सिजन उनले सेथुबाट खेलेकी थिइन् । गत सिजन सेथुले उपाधि जितेको थियो ।